सूचनाको शक्ति - The Power Of Information

        

समाचार

कर्मचारी र नेताका आसोपासेलाई राहत, वास्तविक बाढीपहिरो पीडित जिल्लै

बाढीपहिरोले ६५ विद्यालय आशिंक र २ वटा विद्यालय पूर्णरुपमा क्षति

बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङले असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको बर्षाका कारण आएको बाढीपहिरोले नदी कटान र ढुवानका कारण मानविय तथा पूर्ण घर क्षति भएकाहरुलाई वितरण गरेको राहतको रकम र नामावली सार्वजनिक गरेको छ । बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले पत्रकार सम्मेलनको आयोजना गरेर प्रभावितलाई वितरण गरेको राहत रकम र राहत पाउनेको नाम सार्वजनिक गरेका हुन् ।

जिल्लाका थलारा, खप्तछान्ना, वित्थचिर र छविसपाथिभेरा गाउँपालिकामा गरी जम्मा ३२ जनाको मृत्यु भएको थियो भने जयपृथ्वी, बुंगल नगरपालिका, सुर्मा, केदारस्युँ, मष्टा गाउँपालिकाका पूर्ण क्षति भएका गरी १९५ घर परिवारलाई प्रतिपरिवार २० हजार रुपैयाँ वितरण गरेको थियो । सार्वजनिक गरेको राहत पाउनेको नाम वास्तविक पीडितले नभएर वडाध्यक्षको आसेपासेको नाम राखेर राहत बुझेको बाढीपीडितहरुले बताएका छन् ।

आफुले आफ्नो भत्केको घरको फोटोसहित वडा कार्यालयको सिफारिससहित प्रहरी मुचुल्का बुझाउँदा पनि राहत नपाएको र आसेपासेका नाम राखेर बाढी, पहिरो पीडित भनेर राहत वितरण गरेको जयपृथ्वी नगरपालिका–१ की पहिरो पीडित नविना सिंहले बताइन् । उनले भनिन्, ‘घरमा पहिरोले क्षति गरेपछि ५ जनाको परिवारसहित आफुहरु छिमेकीको घरमा बस्दै आएका छौं । हालसम्म राहत पाएका छैनौ । कुनै क्षति नभएकाले राहत बुझेका छन् ।’

जिल्ला प्रशासन कार्यालयले सार्वजनीक गरेको राहत पाउनेको नामावलीमा ५० प्रतिशत नामहरु कुनै क्षति नभकाहरुको हालेको पाइएको छ । राहत पाउनेको नामावलीमा बाढीपहिरोले कुनै क्षति नभएका र किर्ते मुचुल्का गर्नेमा बढी सरकारी कर्मचारी र नेताका आफन्तहरु रहेका छन् । वास्तविक पीडितलाई राहत नदिएर नेताका आसोपासेलाई राहत दिएको रहस्य सार्वजनीक भएको छ ।

वास्तविक पीडितहरुको नामावली नसमेटिएकोले वास्तविक पीडितहरुलाई राहतको व्यवस्था गर्नुपर्ने नागरिक समाजका अगुवा धर्मजङबहादुर सिंहले बताए । पत्रकार सम्मेलनमा जिल्ला प्रशासन कार्यालयले पत्रकारलाई उपलब्ध गराएको राहत पाउनेको नामावली हेरफेर नगरेर तथा वास्तविक पीडितहरुको सूचीमा नाम नरहेको र आफुहरु स्थलगत रिपोटिङमा गएर स्थानीय तहमा क्षति भएका घरधुरीभन्दा क्षति नभएका घरधनीको नाम राहत पाउनेको सूचीमा राखेको अकोराब सुदूरपश्चिमका अध्यक्ष जगत खड्काले बताए ।

साथै पत्रकारहरुले नामावली हेरफेर गरी क्षति नभएकाहरुले पाएको राहात रकम फिर्ता गराउने पर्ने र वास्तविक पीडितहरुलाई दिनुपर्ने बताएका थिए । प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले झुटो मुचुल्का गराई राहत लिनेहरुको फेरी नामावलीमा छानविन गरेर वास्तविक पीडितको पहिचान गरी राहत वितरण गरिने बताए । सरकारले पहिलो चरणको राहतस्वरुप जिल्लामा ७२ लाख ७० हजार रुपैयाँ वितरण गरेको जनाइएको छ ।

विद्यालयको भवन र जमिन भासिँदा पठनपाठनमा समस्या

पत्रकार सम्मेलनमा बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी ।

असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म परेको अविरल बर्षाले बझाङस्थित एक विद्यालयको भवन र जमिन भासिँदा पठनपाठनमा समस्या भएको छ । बझाङको जयपृथ्वी नगरपालिका–१ कैलाशमा रहेको बेताल आधारभूत प्राथमिक विध्यालयको एकतले २ कोठे भवन र २ तले ३ कोठे भवन पुरै भासिएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको हो ।

२०५४ सालमा स्थापना भएको उक्त विध्यालयमा छात्रछात्रा गरी १७४ जना विद्यार्थी अध्ययन गर्दै आएका छन् । विद्यालयभित्र पठनपाठन गर्ने अवस्था नभएपछि अहिले विद्यालय नजिकै रहेका खेतहरुमा राखेर पढाउने गरेको विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशीले बताए । ‘विद्यालय बन्द गरौं भने के गर्ने ? वैकल्पिक पढाइ गर्न भनेर नेपाल रेडक्रस सोसाइटीसँग पाल माग्न जाँदा विद्यालयमा पाल दिने व्यवस्था रहेनछ,’ उनले भने ।

अर्कातिर छात्रछात्रा चर्पीसमेत पहिरोले पुरिँदा खुलारुपमा शौच गर्नुपर्ने अवस्था आएको विद्यालयमा रहेका ५ वटा बालमैत्री धारा पहिरोले पुरिँदा पिउने पानीको समेत समस्या भएको प्रधानाध्यापक जोशीले बताए । जयपृथ्वी नगरपालिका–१ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर सिंहले वडा कार्यालयले यो आर्थिक बर्षको बजेट विनियोजन गरिसकेकाले त्यस्तो कुनै व्यवस्था नरहेको बताए ।

विद्यालयका संरचना पुनः निर्माण गर्न ठुलो बजेटको आवश्यक रहेको र विद्यालयको जमिन सबै भासिएपछि विद्यालय नै सराउनुपर्ने भएकाले अभिभावक र जग्गा दातासँग समन्वय भइरहेको समेत बताए । त्यस्तै जिल्लाको खप्तडछान्ना गाउँपालिकामा–१ खाती गाउँमा रहेको विद्यालय बगाएपछि अहिले खुलारुपमा पठनपाठन सुरु भएको छ । जगदम्बा निमाविको आठ कोठे पक्की भवन जडारी गाडमा आएको बाढीले बगाएको थियो ।

विद्यालय बगाएपछि विद्यार्थीहरुलाई खुल्ला चौरमा राखेर पठनपाठन सुरु गरिएको विद्यालय भवन निर्माणका लागि विभिन्न निकायमा पहल गरेको भए पनि कुनै पनि ठाउँबाट सुनुवाई नभएको विद्यालयका प्रधानाध्यापक लालबहादुर खत्रीले बताए । १६० जना विद्यार्थी सख्या रहेको उक्त विद्यालयका शौचालयसहित आठ वटा कोठा बगेर बगर बनाएपछि विद्यार्थीको पठनपाठनमा समेत अवरुद्ध भएको छ ।

घाम लागेका बेला विद्यालयमा नियमित पढाई हुने भए पनि घाम अस्ताएपछि भने चिसो हुने भएका कारण विद्यार्थीसमेत बाहिर बस्न नमान्ने स्थिति आएको शिक्षकहरुले बताएका छन् । बर्षाका कारण बाढी र पहिरोले जिल्लाभर ६५ वटा विद्यालय आशिंकरुपमा क्षति भएका छन् भने २ वटा विद्यालय पूर्णरुपमा क्षति भएको सामाजिक विकास कार्यालय बझाङका प्रमुख बीरबहादुर धामीले बताए ।

क्षतिको आँकलन गर्दा शैक्षिक क्षेत्रका भौतिक संरचनाहरुमा १० करोड ८१ लाख बराबरको क्षति भएको र सुदूरपश्चिम प्रदेश सरकार लगायत सरोकारवाला निकायमका क्षतिको विवरण पठाइसकेको समेत धामीले बताए । उक्त निकायबाट विशेष बजेट आएको खण्डमा विद्यालयहरुको स्थलगत अनुगमन गरी काम अगाडी बढाउने र हालका लागि वैकल्पिक विधिबाट पढाइको व्यवस्था गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार १८:१७