सूचनाको शक्ति - The Power Of Information

        

आजबाट विद्युत महशुल घट्यो, २२ लाख ग्राहकले महिनामा ३० रुपैयाँ तिरे हुने

काठमाडौं । आजदेखि विद्युतमा नयाँ महसुल दर लागू भएको छ । २० युनिटसम्म इनर्जी शुल्क नलाग्ने भएको हो । नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरे अनुसार विद्युत नियमन आयोगले निर्धारण गरेको नयाँ महशुल दर लागू भएको हो ।

नयाँ महशुल दर पुस महिनाको बिलिङबाट कार्यान्वयन हुने प्राधिकरणले बताएको छ । नयाँ विद्युत महशुल दर अनुसार विपन्न मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क लाग्दैन । यी ग्राहकलाई न्युनतम मासिक शुल्क ३० रुपैयाँ शुल्क तोकिएको छ ।

२० युनिट विद्युत खपत ग्राहक नेपालमा करिब २२ लाख रहेका छन् । २२ लाख ग्राहकले अब प्रतिमहिना ३० रुपैयाँ शुल्क तिरे हुने भएको छ।
सिंगल फेजबाट विद्युत लिएर १ सय ५१ देखि २ सय ५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क ५० पैसा घटाई प्रति युनिट ९ रुपैयाँ ५० पैसा कायम भएको छ । ४ सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रतियुनिट १ रुपैयाँ घटाएर ११ रुपैयाँ कायम गरिएको छ ।

थ्री फेज मिटर प्रयोग गर्ने उपभोक्ताका लागि न्यूनतम शुल्क यथावत् राखेर इनर्जी शुल्क वर्षायाम र हिउँदमा फरक–फरक तोकिएको छ । मासिक ४ सय युनिटसम्म विद्युत् प्रयोग गर्ने थ्री फेज ग्राहकलाई हाल प्रति युनिट ११ रुपैयाँ ५० पैसा इनर्जी शुल्क लाग्दै आएकोमा अब वर्षाका समयमा १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० शुल्क लाग्ने छ ।

४ सय युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकका लागि प्रति युनिट १२ रुपैयाँ इनर्जी शुल्कबाट घटाएर १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा शुल्क तोकिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार १४:५४