सूचनाको शक्ति - The Power Of Information

        

आज विप्लवको नेपाल बन्द, देशभरको जनजीवन प्रभावित

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको कारण आज (मंगलबार) बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ ।

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको बिरोधमा चरणबद्ध कार्यक्रम गर्दै आएको नेकपाले आजका लागि नेपाल बन्द आह्वान गरेको हो । विशेष गरेर बन्दको कारण सबारी साधन नचल्दा यात्रुहरुले सास्ती पाएका छन् । काठमाडौँ उपत्यकामा बिहानैदेखि गाडी नचल्दा उपत्यका बाहिरबाट राजधानी भित्रिएका यात्रुहरुको बिचल्ली भएको छ । उनीहरु रातिदेखि नै सवारी साधनको प्रतिक्षामा सडकमा बसेका छन् ।

काठमाडौंको नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खु लगायतका ठाउँमा रहेका यात्रुले गन्तव्यमा जानको लागि सबारी साधन पाएका छैनन् । काठमाडौं उपत्यकामा रातिदेखि नै ट्याक्सीसमेत नचल्दा यात्रुहरुले अझ सास्ती पाएका छन् । बिहानैदेखि काठमाडौँ उपत्यकाबाट लामो गन्तव्यका लागि छुट्ने कुनै पनि सबारी साधन नचलेका नागढुंगा प्रहरीले जनाएको छ ।

प्रहरी प्रभाव नागढुंगाकी प्रमुख प्रहरी निरीक्षक निरु दुवालका अनुसार गएराति फाट्टफुट्ट रुपमा सवारी साधन चलेका भए पनि आज बिहानबाट भने नागढुंगा नाकाबाट सबारी साधनको आवतजावत ठप्प छ । बन्दको कारण राजधानीमा पसलहरु पनि खुलेका छैनन्। उपत्यका बाहिरका पनि बन्दको प्रभाव परेको छ । विशेष गरेर सार्वजनिक सबारी साधनमा बन्दको प्रभाव परेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलवार ०७:१७