सूचनाको शक्ति - The Power Of Information

        

राराको सौन्दर्यमा रमाउँदै अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरी

काठमाडौं । अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूतहरू एकसाथ मुगुस्थित रारा तालको भ्रमणमा निस्केका छन् । उनीहरू ताल्चा विमानस्थल भएर रारा ट्रेकिङ गएका हुन् । उक्त भ्रमणका तस्वीरहरू राजदूतहरूले आफ्ना सामाजिक सञ्जालमार्फत् सेयर गरेका छन् ।

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीले राराबाट डायरी लेखेका छन् । पहिलो दिनको डायरीमा उनले आफूहरू किन यो यात्रामा निस्केको भन्ने सम्बन्धमा आम जिज्ञासालाई सम्बोधन गर्दै भनेका छन् ।

‘म किन यो यात्रामा निस्कें ? रारा ताल नै किन ? किनभने जलवायु परिवर्तन विनाशकारी छ । यसले सवै समुदाय र पृथ्वीका सवै कुनालाई असर गर्छ । यो हाम्रो वर्तमान र हाम्रो भविष्य हो । यो खतराको घण्टी हो ।’

राजदूत बेरीले रारा ताल नेपालको सवैभन्दा ठूलो र हिमाली क्षेत्रमा अवस्थित ताल रहेको भन्दै यो झन्डै झन्डै लोप हुन लागेका विभिन्न स्थानीय प्रजातिहरूको बासस्थान पनि रहेको उल्लेख गरेका छन् ।

‘जलवायु संकटको यो घडीमा विभिन्न भागका नेपालीहरूले आगलागी, बाढीपहिरो, लगायत भीषण ऋतु परिवर्तनका कारणले बालीनालीमा पर्ने गम्भीर असर लगायत विभिन्न कारण जीविकामा विभिन्न अप्ठ्याराको सामना गर्नुपरेको छ ।,’ राजदूत बेरीले सार्वजनिक गरेको डायरीमा लेखेका छन् ।

उनले लेखेका छन्, ‘अग्ला भेगमा हुने विभिन्नखाले यस्ता संकटको प्रभाव तल्ला क्षेत्रहरूस सम्म पनि पर्ने गर्दछ । त्यसैले म किन यो यात्रा गर्दैछु त । स्पष्ट छ, म तपाईंहरू सवैलाई यी सवै विषयका बारे अवगत होस् भन्ने चाहन्छु ।’ राजदूत बेरीसहित बेलायती राजदूत निकोला पोलिट र अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क रारा यात्रामा छन् ।

तस्वीर सौजन्य : अमेरिकी दूतावासको फेसबुक पेज तथा अष्ट्रेलियकी राजदूत फेलिसिटी भोल्कको ट्वीटरबाट

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार ०८:५९