सूचनाको शक्ति - The Power Of Information

        

विधानविपरीत प्रतिनिधि छनोटमा गरेको भन्दै एमाले कैलालीमा विवाद

धनगढी । विधि, पद्धतिलाई लत्याउँदै गैरकानुनी तरिकाले महाधिवेशन प्रतिनिधि छनोट गरिएको भन्दै कैलाली क्षेत्र नम्बर ५ मा एमालेका कार्यकर्ताले विरोध जनाएका छन् ।

१० मसिरदेखि चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा काठमाडाैँका नेताको आदेशअनुसार प्रतिनिधि छनौट गरिएको भन्दै असन्तुष्ट पक्षले विज्ञप्ति समेत जारी गरेका छन् ।

महाधिवेशन प्रतिनिधि छनौटको विषयमा असुन्तुष्टि जनाउँदै एमाले नेता शम्भु कुँवर, तेजबहादुर रावल, तारा कलेल र मिठ्ठुबहादुर कुँवरले विज्ञप्ति जारी गरेका हुन् । उनिहरूले पार्टी विधानविपरीत अवैधानिक रूपमा महाधिवेशन प्रतिनिधि छनोट गरिएको आरोप लगाएका छन् ।

आधिकारिक रूपमा ‘जनताको बहुदलीय जनवादलाई सिद्धान्तको रूपमा अगिंकार गरेको पार्टीले आन्तरिक प्रतिस्पर्धा गर्न/गराउनबाट बञ्चित गराउनु भनेको जनताको बहुदलीय जनवादकै खिलाफ रहेको हाम्रो बुझाइ छ’, जारी विज्ञप्तीमा भनिएको छ, ‘यो एकात्मक निरंकुश शैली हो ।’

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट एमाले जिल्ला उपाध्यक्ष रणबहादुर चन्द, धर्मराज पाठक, जीवन बम, राजेश खाती, डिल्लीराज खड्का, झुमा चौधरी र छाया थापा महाधिवेशनका लागि प्रतिनिधि छनोट भएका छन् ।

एमालेका नेता तथा सांसद झपट रावलले पनि कैलालीमा महाधिवेशन प्रतिनिधि छनोटमा पार्टी सत्ताको घिनलाग्दो दुरूपयोग भएको भन्दै चर्को असन्तुष्टि जनाएका छन् । नेता रावलले शनिबार साँझ ट्वीट गर्दै कार्यकर्ताको प्रतिनिधि चुन्ने र चुनिने सार्वभौम अधिकारको चीरहरण भएको भन्दै नेतृत्वले जबजको उपहास गरेको आराेप लगाएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतवार १६:५८