सूचनाको शक्ति - The Power Of Information

        

बिजुलीको खुशी

पहिलो पटक उज्यालो तिहार मनाउन पाउँदा बघौडाबासी दङ्ग

बाँके । बाँके जिल्लाको कर्णालीका रूपमा चिनिने राप्तीसोनारी र नरैनापुरवासीले उज्यालोको पर्व तिहारका अवसरमा पहिलो पटक बिजुली उपभोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

तिहारलगत्तै उक्त क्षेत्रको निरीक्षण भ्रमणका लागि बघौडा पुगेका लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलक शर्मा हिमाल, सोही क्षेत्रकी प्रदेश सांसद कृष्णा केसीलगायतसँग उनीहरूले यस पटकको तिहार आफूहरूका लागि ऐतिहासिक भएको बताएका छन् ।

यसअघि वर्षौंदेखि दियोका भरमा दीपावली र तिहार मनाउँदै आएका उनीहरूले यस पटक बिजुलीबत्तीको सहयोगले घर नै उज्यालो बनाउन पाउँदा निकै खुसी भएको आफूहरूलाई बताएको प्रदेश सांसद कृष्णा केसीले जानकारी दिइन् ।

बिजुलीको पोल गाडेको अढाई दशकपछि राप्तीसोनारी र नरैनापुर क्षेत्रमा विद्युत् सेवा पुर्याउन सफल भएको सांसद केसीले जानकारी दिइन् । राप्तीसोनारी–७ का वडाध्यक्ष रामलखन थारूले पहिलो पटक तिहारमा बिजुलीको उपभोग गर्न पाउँदा जनता निकै खुसी भएको बताइन् ।

प्रदेशको मन्त्री भएपछि पहिलो पटक अवस्था बुझ्न नरैनापुर र राप्ती सोनारी पुगेका लुम्बिनी प्रदेशका मन्त्री तिलक शर्माले माओवादी नेतृत्वमा विद्युत् क्षेत्रमा ऐतिहासिक परिवर्तन आएको बताउँदै अब विपन्न जनताले निःशुल्क विद्युत् उपभोग गर्न पाउने बताए ।

उनले माओवादीकै नेतृत्वमा १८ घण्टासम्म हुने लोडसेडिङ अन्त्य भएको बताउँदै अब विपन्न व्यक्ति न्यूनतम मासिक ३० रुपैयाँमा विद्युत् सेवा उपभोग गर्न पाउने गरी व्यवस्था मिलाइएको बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार ०८:१९