सूचनाको शक्ति - The Power Of Information

        

रारा गाउँमा खानेपानीको चरम अभाव, स्थानीय सरकार बेखबर

जुम्ला । जुम्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँमा खानेपानीको चरम अभाव हुँदा पनि घर आँगनमै भएको स्थानीय सरकार बेखबर भएको छ । सो गाउँका स्थानीयवासी लालबहादुर रावतका अनुसार धारामा दुई घण्टामात्र पानी आउने गरेको छ । पानी भर्ने स्थानीयवासीको बाल्लो भीडभाड हुने गर्छ ।

धारामा विहान सात बजेदेखि १० बजेसम्ममा पानी आउने गरेको छ । सिंगो गाउँका मानिस धारामा जम्मा हुँदा भिडभाड हुने गर्छ । बिहानै पानी लिन आए दिनभर लाग्ने र दिनहुँजसो एक आपसमा झगडासमेत हुने गरेको स्थानीयवासी रावतले बताए । एक गाग्री पानीका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यता रहेको छ ।

कहिलेकाँही विद्यालय जाने समय पनि छुट्ने गरेको कक्षा दशमा अध्यनरत विद्यार्थी रमेश बुढाले भने, ‘गाउँमा खानेपानीको समस्या बर्षादेखी हुदाँ पनि यो समस्या अहिलेसम्म हल हुन सकेको छैन । गाउँमा विद्यार्थी राम्रोसँग पढ्नसमेत पाउँदैनन् ।’ बिहान धारोमा पानी ल्याउन जादाँ घण्टांै समय लाग्ने गरेको यहाँका स्थानीयवास बताउँछन् ।

नदीको पानी लिप्टमार्फत गाउँमा पानी पुर्याउनका लागि पालिकाले ४८ लाख बजेट खर्च गरे पनि अहिलेसम्म गाउँमा पानी पुग्न सकेको छैन । विद्युतको क्षमता कम भएकोले लिप्टबाट पानी जान नसकेको वडाध्यक्ष परबहादुर रावतले बताए । जिल्लाका विकट गाउँका नागरिकले अझै पनि सफा र स्वच्छ खानेपानीको सहज पहुँचभन्दा बाहिर छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार १५:४२