सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ८ हजारभन्दा तल झर्‍याे

काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा थप पाँच सय ६३ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार सात सय १३ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा तल झरेको यो पहिलो पटक हो । नेपालमा अहिलेसम्म सात लाख ९५ हजार तीन सय ९७ जना कोरोनाबाट निको भएका छन् ।

यस्तै २४ घण्टामा थप एक सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको छ । दुई हजार तीन सय ३३ जनाको नमुना परीक्षण गर्दा ६ दशमलव १२ अर्थात् एक सय ४३ जनामा सङ्क्रमण देखिएको हो ।

आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १४ हजार पाँच सय ५८ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार आठ सय १७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यही अवधिमा नाै जना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ४८  पुगेको छ ।

हिजाे शनिवार तिहारकाे भाइटीका परेकाले पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतवार १६:५३