सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश नं १ र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाण्डाै। आज आइतबार प्रदेश नं १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले उक्त जानकारी दिएको हो। महाशाखाका अनुसार आज प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन। हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो देशका प्रदेश नं १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार राति देशका प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने मौसमविद्हरुले जनाएका छन्। उनीहरुका अनुसार प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतवार ०७:४४