सूचनाको शक्ति - The Power Of Information

        

‘दाजुभाइलाई सकेसम्म घरमै बनाएका खानेकुरा दिऊँ’

काठमाण्डाै।तिहारमा चिल्लो रोटी र मिठाईभन्दा ताजा फलफूल तथा सुख्खा फलमा ध्यान दिन पोषण विद्हरुले आग्रह गरेका छन् ।

टीका लगाएर दिदीबहिनीले दाजुभाइलाई खाना दिँदा चिल्लो र गुलियो मिठाईभन्दा सुख्खा फल र ताजा फलफूलमा जोड दिन पोषणविद् डाक्टर अरुणा उप्रेतीले आग्रह गर्नुभयो ।

यस्तै, पर्व मनाउँदा मासु लगायतका खानेकुरा पनि सीमित मात्रै खान उहाँको आग्रह छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई विभिन्न प्रकारका मिठाईका साथै रोटी भाइ मसलाका रूपमा दिने परम्परा छ ।

बजारमा सजिलै किन्न सकिने मिठाईका परिकारमा प्रयोग हुने विभिन्न रङ र रसायन स्वास्थ्यका लागि हानिकारक हुने गर्छन् ।

त्यसैले दाजुभाइलाई खानेकुरा दिँदा सकेसम्म आफैले बनाएका खानेकुरा दिएमा स्वास्थ्यमा फाइदाका साथै आत्मीयता पनि बढ्छ । तिहारमा सगुनका रूपमा दाजुभाइलाई ओखर, पिस्ता, बदाम, काजुजस्ता खानेकुरा र खानामा आफैँले बनाएका र सागसब्जी बढी समेटिएका खानेकुरा दिनु उचित हुने पोषणविद् उप्रेतीले बताउनुभयो ।

बजारमा लामो समयदेखि बनाएर प्लास्टिकमा राखेका खानेकुरा पनि तिहारलगायत चाडपर्वमा बिक्री हुन सक्ने भएकोले दाजुभाइलाई दिने खानेकुरा सकेसम्म घरमै बनाउनुपर्ने पोषणविद्हरूको सुझाव छ ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार १०:४९