काठमाडौं । दुई वटा ट्रान्सफर्मर जलेर भरतपुर महानगर अध्याँरो भएको ३६ घण्टापछि विहीबार विहान एक बजे विजुली आएको छ । अध्याँरो हुने वित्तिकै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक काठमाडौंबाट चितवन पुगेका थिए । उनी चितवन जानु अघिनै ट्रान्सफर्मरको जोहोसमेत गरेका थिए ।
उनी पुग्दा केही कामदार मात्रै ट्रान्सफर्मर फेर्ने काममा लागेको देखेपछि भरतपुरका विभागीय प्रमुखलाई समेत हप्काएका थिए । ‘पाँच जना मान्छे लगाएर पनि काम हुन्छ । यस्तो पनि तरीका हो ?’ कुलमानले झोक्किदै भनेका थिए । तरसँगै उनले ठेकेदार र कामदारलाई हौस्याउँदै भनेका थिए, ’तपाइँहरुलाई के चाहिन्छ सबै दिन तयार छु । खसी काट्ने भए पनि काट्नुस तर यो काम सक्नुहोला ।’
विभागीय प्रमुखलाई हप्काएका कुलमानले कामदारलाई भने हौस्याएर काम निकाले । उनी बुधबार रातभरि बसेर विहीबार विहान एक बजे विजुली सुचारु गराउन सफल भए । विहीबार विहान एक बजे विजुली सुचारु गरेपछि कर्मचारी र कामदारसँग खुशी मनाएर कुलमान काठमाडौं फर्किएका छन् । कुलमानले लक्ष्मीपुजाको दिन कतै पनि अध्याँरो नहोस् भनेर आफै फिल्डमा खटिएका थिए ।
उनले कुनै ठूलो समस्या नआए लक्ष्मीपुजाको दिनमा विद्युत आपूर्तिमा कुनै प्रभाव नपर्ने बताए । लक्ष्मी पूजाको दिन देशभरको विद्युत माग १५०० मेगावाट वरिपरिनै रहने पनि प्राधिकरणको प्रक्षेपण छ । अहिले १०० मेगावाट क्षमताका कुलेखानी आयोजना भने नचलाउँदा पनि प्रणालीमा १६०० मेगावाट विद्युत २४ सै घण्टा उपलब्ध छ ।
।