जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाले अर्गानिक मिनी मार्केट सञ्चालनमा ल्याएको छ । अति लोकप्रिय बचत तथा ऋण लगनाीको क्षेत्रमा काम गर्दै आएको चन्दननाथ सहकारीले जुम्ला सदरमुकाम खलङ्गा बजारमा सो मिनी मार्केट सञ्चालनमा ल्याएको सहकारीका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले बताए ।
उनले भने, ‘रैथाने बालीको उत्पादनलाई बढवा दिनका लागी सहकारीले अर्गानिक मिनी मार्केट सञ्चालनमा ल्याएका हौं ।’ जुम्लामा उत्पादन हुने अर्गानिक अन्नबाली स्याउ, सिमि, आलु, मकै, कोदो, फापर, मार्सी धान, ओखर, टिमुर चिनो, कागुनो, स्याउ, घीउ, मह लगायतका रैथाने बस्तुको उत्पादन बढाउने उद्देश्यले अर्गानिक मिनी मार्केट पसल खोलेको सहकारीका कार्यकारी व्यवस्थापक पाण्डेले बताए ।
सहकारीले ५० लाख बराबरको मार्सीधान र सिमी खरिद गर्ने भएको छ । ३० हजार ओखर खरिद गरेको छ । अर्गानिक मिनी मार्केटबाट दैनिक एक लाख बराबरको अर्गानिक बस्तु बिक्री हुने गरेको सहकारीले जनाएको छ । जिल्लामा उत्पादन हुने रैथाने बस्तु गाउँगाउँमा रहेका आफ्ना सदस्यहरुबाट संकलन गर्ने गरिएको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक पाण्डेले जानकारी दिए ।
व्यवस्थापक पाण्डे भने, ‘बचत उठाउँदा नगदमात्रै लिने गरेको छैन, सदस्यहरुको सहजताको लागी सिमी, चामल, फापरजस्ता अर्गानिक बस्तु पनि लिने गरेका छौं । सिमी चामलसँग पनि बचत साट्ने गरिएको छ । जुम्लामै उत्पादन भएको रैथाने बालीलाई प्रथामिकता दिएक छौ ।’ अर्गानिक उत्पादन गर्ने किसानलाई सहकारीले २० हजार बराबार अनुदान दिने गरेका छौ । जुम्लामा मात्रै १८ हजार सहकारीका सदस्य रहेका छन् ।
तीमध्ये १२ हजार गाउँमा छन् । गाउँमा भएका १२ हजार सदस्यको उत्पादन सहकारीले आफैं लिने गरेको सहकारीका व्यवस्थापक पाण्डेले बताए । जुम्ला उत्पादित रैथाने बाली मात्रै नभई राडीपाखी, लिउ, उनबाट बनाइएका स्वीटर, कोटको कपडा, खराएका टोपी लगायत सम्पूर्ण सामाग्रीहरु मिनी मार्केटबाट बिक्री हुने गरेको पनि सहकारीले जनाएको छ । पछिल्लो समयमा चन्दननाथ सहकारी वित्तिय कारोबारमा कर्णालीकै अब्बल बन्दै गएको छ ।
।