सूचनाको शक्ति - The Power Of Information

        

सिमकोटमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य वस्तुको मूल्य अप्रत्याशित रूपमा आकाशियको छ । नेपालगन्ज, सुर्खेतबाट हवाई उडान निकै कम हुँदा सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य वस्तु आयात नभएपछि मूल्य आकाशिएको हो ।

दसैँयता निजी एयरलाइन्सले यात्रु मात्रै ओसारि रहेका कारण सामग्री आयात नहुँदा सिमकोटमा तेल, चिनी, बेसार, मसला तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ । धारा तेल लिटरको २४० र स्वस्तिक तेल लिटरको १९० रुपैयाँ पुगेको छ ।

यसअघि सिमकोटमा धारा तेलको १५० र स्वस्तिक तेलको मूल्य १४० रुपैयाँसम्म पर्ने गरेको थियो । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् । हवाई माध्यामको भरमा सिमकोटमा ढुवानी हुँदै आएको दैनिक उपभोग्य वस्तु आयात नहुँदा यहाँका व्यापारीहरूले महँगो मूल्यमा बिक्री गर्ने गरेका छन् ।

जसकारण उपभोक्ताले चर्को मूल्य तिरेर भान्सामा प्रयोग हुने वस्तु खरिद गर्नुपरेको छ । लामो समयसम्म जिल्ला बाहिरबाट सामग्री आयात नहुँदा मूल्य बजारमा एकाएक आकासिएपछि उपभोक्ता मर्कामा परेका छन् । राज्यको अनुगमन निकाय फितलो भएकाले बजारमा व्यापारीले मनपरी गरेको उपभोक्ताको गुनासो छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार ०७:२४