सूचनाको शक्ति - The Power Of Information

        

व्यक्ति विशेष

कर्णालीको मुख्यमन्त्रीमा ‘पाइलट जीवनबहादुर’

काठमाडौं । बुढानिलकण्ठ स्कुलमा पढेका विद्यार्थीको पहिलो रोजाईं डाक्टर त्यसपछि इन्जिनियर र पाइलट बन्ने हुन्छ । कर्णाली प्रदेशको अत्यन्तै विकट जिल्ला हुम्लामा जन्मिएका जीवनबहादुर शाही काठमाडौंको बुढानिलकण्ठ स्कुलमा पढेर पनि पहिलो रोजाईंको डाक्टरभन्दा पाइलट बन्न उत्साहित भए ।

त्यो बेला प्रत्येक जिल्लाबाट मेधावी विद्यार्थी खोजेर बुढानिलकण्ठ स्कुलमा ल्याई छात्रवृत्तिमा पढाउने चलन थियो । कर्णालीको अत्यन्तै विकट जिल्ला हुम्लाका जन्मिएका शाही त्यहीँ प्रक्रियाबाट काठमाडौंको बुढानिलकण्ठ स्कुलमा छिरे । डाक्टर बन्ने क्षमता भएका शाहीले अमेरिकाबाट पाइलट बन्ने योजना बनाए ।

उनकै योजनाअनुसार अमेरिकाबाट पाइलट ट्रेनिङ पनि सके । पाइलट ट्रेनिङ समाप्त भएपछि जेट विमान चालकको भूमिकामा देखिनुपर्ने शाही राजनीतिक जेट उडाउन आफ्नै विकट जिल्ला हुम्लातर्फ लागे । त्यसपछि शाही हुम्लाको जिल्ला विकास समिति सभापतिको हैसियतमा राजनीतिक जेट उडाउन थाले ।

जिविस सभापतिमा निर्वाचित भएपछि उनले मोटर बाटोले नछोएको हुम्ला जिल्लालाई मोटर बाटोसँग जोड्ने अवधारणा अघि सारे । शाहीकै अवधारणा अनुरूप तयर भएको हिल्सा–सिमकोट सडक अहिले तीब्र गतिमा बनिरहेको छ । हुम्ला जिल्लाको स्वास्थ्य र शिक्षामा पनि त्यो बेला उनको अतुलनीय योगदान रहेको छ ।

कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने तयारीमा रहेका शाही संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र खानेपानी तथा सरसफाइमन्त्रीको हैसियतमा काम गरेका व्यक्ति हुन् । उनले खानेपानी मन्त्रालयमा छोटो समयमै सुधारका काम गर्न सफल भए । शाही खानेपानीमन्त्री भएका बेला सचिवको जिम्मेवारीमा भीम उपाध्याय थिए । मन्त्री शाही र सचिव उपाध्यायको जोडी खुब जमेको थियो ।

मेलम्ची खानेपानीको महशुल नतिर्ने राष्ट्रपति, प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्मलाई महशुल भुक्तानी गर्न मन्त्री शाही र सचिव उपाध्यायले पत्र काटेर तरंग ल्याइदिएका थिए । कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीले राजीनामा दिएसँगै नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता उनै जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्री बन्ने तरखरमा देखिन्छन् । डाक्टर बन्न छाडेर पाइलट बनेका जीवनबहादुर कर्णालीको मुख्यमन्त्रीको जेट हाँक्ने तयारी गर्दैछन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलवार १०:३३