सूचनाको शक्ति - The Power Of Information

        

घरघरमै गँड्यौला पालन अभियान

धनकुटा । फोहोर व्यवस्थापन गर्न धनकुटा नगरपालिकाले घरघरमै गँड्यौलापालन अभियान सञ्चालनमा ल्याएको छ । नगरको फोहोर व्यवस्थापन गर्न तथा घरघरमा करेसाबारी र कौशी खेति प्रवद्र्धनका लागि नगरपालिकाले वातावरणमैत्री गड्यौंला पालन अभियान सुरु गरेको हो । घरबाट निस्कने फोहरमैला गड्यौलालाई खुवाएर कम्पोष्ट मल बनाउन यो अभियान शुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको अभियानलाई स्थानीयले साथ दिएका छन् । धनकुटाका धेरै घरमा अहिले गँड्यौला पालन गरिएको छ । फोहोरको दीर्घकालिन व्यवस्थापन गर्दै करेसा र कौसी खेती प्रवद्र्धनका लागि नगरका करिव चारसय गृहणीलाई गड्यौला पालन तालिम र निःशुल्क बीउ गड्यौला वितरण गरिएको धनकुटा नगरपालिकाले जनाएको छ । गड्यौला पालनले फोहरलाई स्रोतमै छुट्याउन मद्दत गर्नुका साथै ल्याण्ड फिलसाइडको आयुसमेत बढाएको धनकुटा नगरपालिका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिनुभयो । ९० प्रतिशत प्राङ्गारिक बस्तु र १० प्रतिशत माटो खाई सतहको मुनि बस्ने गड्यौलाले खेतीको माटोसमेत खुकुलो पार्छ । हरेक घरमा गड्यौला पालन अनिवार्य गर्न सके नगरबाट निस्कने ३७ प्रतिशत फोहोर घरमै व्यवस्थापन गर्न सकिने प्राविधिकहरुले बताएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार १५:३६