सूचनाको शक्ति - The Power Of Information

        

नेपाल घुम्ने पर्यटकलाई चीनको १० बुँदे निर्देशन


  • ‘साइकल भाडामा लिनु, मोटरसाइकल नचढ्नु’


बेइजिङ । नेपालमा वर्षा ऋतुको अन्त्य र पर्यटकीय सिजन सुरू भएसँगै चीनको राष्ट्रिय पर्यटन प्रशासनले नेपाल घुम्न चाहने चिनियाँका लागि १० बुँदे निर्देशिका जारी गरेको छ । चीनको राष्ट्रिय दिवस तथा मध्यशरद पर्वको ८ दिन लामो विदाको अवसरमा नेपालमा पनि परम्परागत चाडपर्वको विदा परेकाले नेपाल भ्रमण गर्नु उपयुक्त भएकाले केही कुराहरूमा सचेतता अपनाउन प्रशासनले अपील जारी गरेको हो । चिनियाँ पर्यटक बढाउन नेपालले अघिल्लो वर्षदेखि हवाईयात्रा गरेर नेपाल पुग्ने चिनियाँका लागि अनअराइभल निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । यदि कुनै चिनियाँ केरूङ नाकाबाट नेपाल भ्रमणमा जान चाहन्छ भने नाकाको अध्यागमन विभागमा गएर आवश्यक कागजात बमोजिम राहदानीमा छाप लगाइमाग्न सक्छ ।
चीनले सुरक्षित यात्राका लागि यात्रा सुरक्षा बीमा गर्न र आफ्ना कागजातको राम्रो ख्याल गर्न सुझाव दिने गरेको छ । पर्यटन प्रशासनले आफ्नो वेभसाइटमा लेखेको छ, खुला सिमाना भएको भारतीय सीमा क्षेत्रमा तेश्रो मुलुकका नागरिकबाहेक नेपाली र चिनियाँलाई बन्देज नहुने भएकाले भारत जानका लागि नेपालभित्रै भिसा लिएर सुविधा उपभोग गर्न सकिनेछ । नेपालको यातायात पूर्वाधार कमजोर छ । त्यसैले यात्रा गर्दा सुरक्षित र भरपर्दो ट्राभल रूट प्रयोग गर्न, साथै खराब मौसमका बेला पहाडी क्षेत्रमा जाँदा मिनिबस, मिनिभ्यान, अन्य यातायातमा ध्यान दिनुका साथै मोटरसाइकल नचढेर साइकल भाडामा लिन सल्लाह दिइएको छ । नेपालको पर्यटन श्रोत समृद्ध भएकाले हाइकिङ, हिमाल आरोहण, प्याराग्लाइडिङ, बोटिङ, ¥याफ्टिङ लगायत कैयन साहसिक पर्यटकीय योजनाहरू छन् ।
यस्ता पर्यटकीय गतिविधिमा भाग लिँदा न्यूनतम् सर्तहरू पालना गर्न र अन्तर्राष्ट्रिय ट्राभल बीमा गर्न, भरपर्दो स्थानीय ट्राभल एजेन्सी छनोट गर्न सुझाव दिएको पर्यटन प्रशासनले नेपालका उच्च हिमाली क्षेत्रमा संचार सम्पर्क कमजोर हुने भएकाले सचेत हुन भनेको छ । हाइकिङ, पर्वतारोहण, वा अरू पर्यटकीय परियोजनामा भाग लिँदा हातमा हात मिलाएर, राम्रो शारीरिक तयारी वा उद्धार बीमा गर्नुका साथै निरन्तर संचार हुने माध्यम अवलम्बन गर्न भनिएको छ । नेपालमा विदेशी मुद्रा वा सुन लैजान कडा बन्देज भएकाले ५ हजार डलर, २० ग्राम सुन, १०० ग्राम चाँदी भन्दा बढी लैजाँदा भन्सार पास गर्न, अन्यथा अपराधको मुद्धामा पर्न सक्नेतर्फ सतर्क गराएको छ । नेपालमा संकटापन्न जनावर र वनस्पति वा तिनबाट उत्पादित वस्तु लैजान र ल्याउन प्रतिबन्ध छ ।
हात्तीका दारा, कछुवाको खपेटा, गैँडाको सिङ लगायत अन्य शंकास्पद वस्तुहरू नकिन्न तथा गरगहना, थांका, बोधि वा अन्य विशेष चिनो उपहारहरू कतिसम्म लैजान पाइन्छ, भन्सारमा बुझेर मात्र खरिद गर्न सुझाव दिएको छ । चिनियाँ पर्यटकहरूलाई जुन देशमा गएको हो, त्यहाँको स्थानीय नियम कानुन पालना गर्न, सँस्कृति, धर्म र पर्यटकीय निर्दे्शिका पछ्याउन साथै सट्टाबाजीका गतिविधि नगर्न, नेपालका सडकमा जताततै कुकुर र बाँदरहरू देखिने भएकाले तिनीहरूसँग नजिस्किन पनि नेपालस्थित चिनियाँ दूतावासको सुझावलाई पनि समेटेर निर्देशिका प्रस्तुत गरिएको छ ।
नेपाल घुम्दा, सुरक्षा सतर्कता अपनाउन, रातमा बाहिर नजान, साथीभाइ तथा आफन्तबीच निरन्तर सम्पर्कमा रहन, प्राकृतिक विपत्ति, दुर्घटना, व्यक्तिगत घाइते, लुटपाट र चोरी, यात्रामा विवाद इत्यादि भएको खण्डमा नेपाल प्रहरी वा चिनियाँ दूतावासमा सम्पर्क राख्न पनि चीनको पर्यटन प्रशासनले सूचित गरेको छ । विदाको मौकामा चिनियाँ पर्यटकहरू घरेलु तथा विदेशका लागि पर्यटकीय आम्दानीका श्रोत बन्ने गरेका छन् । चीनले पनि आफ्ना नागरिकलाई देश विदेश भ्रमण गर्न प्रोत्साहित गर्ने गरेको छ । तर चीनको पर्यटन विभागले यस्तो सूचना जारी गर्दा चिनियाँका नजरमा नेपालको पूर्वाधार कमजोर रहेको तथा असुरक्षा बढी भएको विश्लेषण गर्दै चिनियाँ पर्यटकहरू हतपत नेपाल गइहाल्न रूची देखाउँदैनन् । केही आधारभूत तथा सामान्य सुझावले पनि कुनै देशको पर्यटकीय स्तर कति भरपर्दो हुन्छ भन्ने कुराको संकेत गर्ने गर्दछ ।

प्रकाशित मिति : १८ आश्विन २०७४, बुधबार ०६:०४