मनाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले एसियाकै सबैभन्दा ठूलो स्याउ फार्ममा पुगेकी छन् । राष्ट्रपति भण्डारीले सोमबार निजी क्षेत्रबाट सञ्चालित दक्षिण एसियाकै सबैभन्दा ठूलो स्याउ फार्म एग्रो मनाङ स्याउ फार्मको अवलोकन गरेकी हुन् ।
मनाङ ङिस्याङ गाउँपालिका–१ भ्रताङमा प्रतिनिधिसभाका सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेको एग्रो मनाङ स्याउ फार्मको अवलोकन गर्न राष्ट्रपति भण्डारी त्यहाँ पुगेकी हुन् । एग्रो मनाङ प्रालिको स्याउबारी दक्षिण एसियाकै ठूलो हो ।
७३५ रोपनी क्षेत्रफलमा स्याउखेती गरिएको छ । यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएका छन् । राष्ट्रपति भण्डारीलाई एग्रो मनाङ प्रा.लि.का अध्यक्ष समराज गुरुङ र प्रबन्ध निर्देशक युवराज गुरुङले स्याउ फार्मकाबारेमा जानकारी गरएका थिए ।
अवलोकनपछि राष्ट्रपति भण्डारीले नेपालको दुर्गम जिल्लामा उन्नत र व्यावसायिक कृषि खेती गरेर नेपालको अर्थतन्त्रमा थप सहयोग पुग्ने भन्दै खुसी व्यक्त गरिन् । एग्रो मनाङ फार्ममा देशको पहिलो महिला राष्ट्रपतिलाई स्वागत गर्न पाउँदा सम्पूर्ण मनाङका नागरिकहरु खुसी भएको प्रतिनिधिसभा सासद पाल्देन छोपाङ गुरुङले बताए ।
मनाङको हाइ अल्टिच्युडमा रहेको यस एग्रो मनाङ फार्मको अवलोकन भ्रमणका क्रममा सांसद पाल्देन छोपाङ गुरुङ र मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले मनाङ जिल्ला र पालिकाको सुन्दरता र समस्याका बारेमा धारणा राखेका थिए । उक्त फार्ममा गत आर्थिक वर्षमा ४५० टन स्याउ उत्पादन भएको थियो ।
।