सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

प्रचण्डले भने, ‘ओली र ज्ञानेन्द्रबीच गणतन्त्र उल्ट्याउने षडयन्त्र भयो’

‘माओवादी चल्न थालेको छ, अब उभार आउँछ ।’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी ओलीविरुद्ध खनिएका छन् । ‘केपी ओली प्रवृत्ति प्रतिक्रियावादी, प्रतिगमनकारी’ भन्दै प्रचण्डले, ‘ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर मौका आएमा गणतन्त्र, संघीयता उल्ट्याउने’ बताएको सुनेको जिकिर गरेका छन् ।

सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रचण्डले भने, ‘ज्ञानेन्द्रसँग भेटेर ‘गणतन्त्र, संघीयता मलाई पहिलेदेखि मन परेको थिएन बाध्य भएर गरेको हो मौका आयो भने उल्ट्याउने हो भनेर भनेको सुने । स्थिति कहाँसम्म पुग्या रहेछ हेर्नुस् ।’ अहिले परिवर्तन उल्ट्याउने षडयन्त्र भएको र आफूहरूले बलियो भएर रक्षा गर्नुपर्ने प्रचण्डले बताए ।

प्रतिक्रियावादी शक्तिले ओलीलाई मलजल गरेर प्रतिक्रान्तिकारी बनाएको उनले बताए । ‘केपी ओलीसँग एकता गरेर गल्ती गरियो भन्ने आवाज छ । तर, हाम्रो विचार, नीति सही थियो नि । त्यत्रो जनताले विश्वास गरेर भारी बहुमत थिए । तर, यो प्रतिक्रियावादी प्रतिक्रान्तिकारी जाली फटाहालाई सैह्य भएन । डे वान देखि षडयन्त्र गरे ।’

पार्टीभित्र नै वैचारिक हिसाबले विकृत गराएर फुट गराएर नेताहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति लागेर कम्युनिस्ट पार्टीभित्र फुट गराउने काम विश्वभर नै हुँदै आएको र कम्युनिस्ट पार्टीभित्र नेता पतित भएपछि हुने गरेको भन्दै संसारभरी र देशभरका प्रतिक्रियावादीले ओलीजस्तो अवसरवादी भेटेको बताउँदै आफूहरूले हारेको नभई जितेको उनको दाबी छ ।

प्रचण्डले भने, ‘मलजल र सिंगरपटार गरे । ढाडस दिएर उचाले । अरुले गर्न नसकेको काम कम्युनिस्ट पार्टीको प्रधानमन्त्री र अध्यक्षबाट गराए । यसलेमात्रै माओवादीलाई ठिक गर्न सक्ने भन्ठानेर मलजल गरे । हाम्रो ध्यान पार्टी ठूलो बनाउनेमा थियो । हामीले गल्ती गरेको होइन । प्रतिक्रियावादी शक्तिले ओलीलाई मलजल गरेर प्रतिक्रान्तिकारी बनाए । अब संघर्ष बाहेक अर्को विकल्प छैन भनेर संघर्ष र विद्रोह सुरु गर्यौँ ।’

‘पार्टी फुटाइएको हो । २५ प्रतिशतमा ओली थिए । ७५ प्रतिशतमा हामी थियौं । पार्टीबाट ओलीलाई निकाल्यौं । मलाई दलको नेता बनाइयो । केही दिनमा प्रधानमन्त्री हुनेवाला थिए । यो हामीले हारेको हो त ? यो त हामीले जितेको हो,’ प्रचण्डले भने, ‘तर अदालतले पार्टी फुटाइदियो । जुन दिन मलाई दलको नेता चुनियो र प्रधानमन्त्री हुँदै थिए पार्टी अलग अलग हुन आदेश भयो ।’

संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनेको बताउँदै प्रचण्डले भने, ‘६ वटै प्रदेशमा ओली प्रवृत्ति परास्त भयो । केहो माओवादी भन्ने कुरा हुँदा सत्ताको केन्द्रमा त माओवादी नै आयो । प्रचण्डमः ह्युमेलेटलः घेराबन्दी गर्दा अहिले माओवादी हेडक्वाटर बन्यो । प्रदेश १ मा पनि गठबन्धनको सरकार बन्छ ।’

‘माओवादी चल्न थालेको छ, अब उभार आउँछ’

अध्यक्ष प्रचण्डले केही महिनाभित्रै पार्टीमा उभार आउने बताएका छन् । प्रचण्डले ‘नयाँ संकल्पसिहित पार्टीलाई पुनर्निर्माण गर्ने, आत्मालोचनासहित जनातका घरमा गएमा केही महिनाभित्र उभार आउने स्थिति रहेको’ बताउँदै उभार आएमा कसैले रोक्न नसक्ने बताए ।’ ‘चितवन, सर्लाही गए । माओवादी ठिक भयो । २०६४ जस्तै हुन थालेको छ । माओवादीलाई मत दियो भने राष्ट्रियता संविधान बच्छ भन्ने आउन थालेको छ,’ उनले भने ।

माओवादी प्रवेश गर्ने लहर आउँदै गरेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘अझ तराईमा झन् आउँदैछ । भर्खर शान्ति प्रक्रियामा आउँदा तराईमा माओवादीमय लहर भएको थियो । अहिले तराईमा माओवादी नै हाम्रो असली मित्र रहेछ भन्ने चेतना फेरि आएको छ । देशैभरी गति पैदा भएको छ । पार्टी चल्न थालेको छ । थौरै मेहनत गर्ने हो भने उभार आउँछ । विचार नेतृत्व हामीसँग छ ।’ माओवादीले राम्रा काम गरे पनि मार्केटिङ गर्न नसकेको उनले बताए ।

‘राम्रा–राम्रा सामान हामीले बनायौ तर प्रचार गर्न सकेनौ । मार्केटिङ गर्न सकेनौ । हामीले जनतामाझ गरेका विकास निर्माणका काम भन्नुपर्छ । हामीले बीचमा अलिकित गल्ती ग¥यो । अब आत्मसमीक्षा गरेर जनतामा जाऔं,’ उनले भने, ‘हामीले एजेण्डा छोडेको हो कि ? उत्साहमा कमी आएको हो कि भन्ने देखिएको छ । अहिले हामीमा नयाँ संकल्पसहित अगाडि बढ्नुपर्छ भन्ने बोध देखिएको छ ।’

प्रचण्डले पार्टीले एजेण्डा नछाडेको दाबी गर्दै उनले भने, ‘नेपालमा सबै उत्पीडित वर्गको निम्ति हिजो संघर्ष र युद्ध गरेको हो । पहिचान अधिकार आत्मसम्मानका निम्ति लडेको हो । यसलाई दबाउन विरोधी परिवर्तनका विरोधी तत्वले मारेरै सक्न खोजेका थिए । हजारौ बेपता घाइते सहिद हजारौको संख्यामा बलिदान भयो । जनयुद्ध यो थियो । जनआन्दोलन सामन्ती व्यवस्थाविरुद्ध थियो ।’

एकथरी तत्वहरू हिजो जनयुद्ध र जनआन्दोलनको परिवर्तनकारी शक्तिलाई दमन गर्ने र रोक्ने प्रयन्तमा लागे पनि जनताको जोरअगाडि केही नलागेको बताउँदै प्रचण्डले भने, ‘माओवादीको एजेण्डमा सहमति गरे । संघीयता समानुपातिक समावेशी जनताको अधिकारका विषयमा सहमति जनाएका थिए । निरंकुश राजतन्त्र र देशीविदेशी षडयन्त्र परास्त गर्न बुर्जुवाहरुसँग सम्झौता गर्यौँ । नयाँ युगतिर देशलाई लैजान बाटो तय गर्यौ । १२ बुँदे समझदारी गर्यौं ।’

अहिले १५–१६ वर्षपछि घटनाक्रम गहिरोगरी हेर्यौ भने बुर्जुवा र प्रतिक्रियावादीको एउटा शक्तिले सम्झौता ट्याक्टिकल मात्रै कार्यतैनिक रुपमा मात्रै सम्झौता गरेको देखिएको उनले बताए । ‘अलिकति हामी सिथिल हुँदा माओवादी विभाजित हुँदा नेता कार्यकर्ता व्यक्तिगतवादी हुँदा विचार राजनीतिमा जसरी लाग्नुपर्ने हो त्यसरी नलाग्दा बुर्जुवा फस्टाए । माओवादी सिथिल भयो भनेर माओवादी सिध्याउनपर्छ गणतन्त्र संघीयता फाल्नुपर्छ धर्न निरपेक्षता ठिक छैन । समावेशी समानुपातिक पनि के हो के हो ? उत्पीडित वर्ग पनि माओवादी आउनै छाड्यो । अलिकति एमाले र कांग्रेस जस्तो लाग्न थाल्यो भनेर बुर्जुवाहरु उत्साहीत छन् ,’ उनले भने ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार १०:१४