सूचनाको शक्ति - The Power Of Information

        

विद्युतीय गाडीमा रुपान्तरण हुँदै डिजेल/पेट्रोल गाडी

काठमाडौं । सरकारी निकायले पुराना गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्न सक्ने भएका छन् । सरकारले ल्याएको ‘सार्वजनिक खर्चलाई मितव्यायी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड’मा पुराना गाडीलाई विद्युतीयमा रुपान्तरण गर्नसक्ने व्यवस्था गरेको हो ।

सरकारले मर्मत गरेर पनि उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनहरु लागत प्रभावीको आधारमा विद्युतीय सवारी साधनमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेको छ । ‘पुराना गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न सकिने नसकिने बारेमा सम्बन्धित मन्त्रालय तथा निकायले मापदण्ड प्रारम्भ भएको मितिले दुई महिनाभित्र एकीन गर्नुपर्नेछ,’ मापदण्डमा भनिएको छ ।

सरकारले वर्षेनी अर्बौँ रुपैयाँका सवारीसाधन खरिद गर्दै आएको छ । तर आफूसँग कति गाडी छन् भन्ने एकीन तथ्यांक नै छैन । भएका गाडीलाई व्यवस्थापन गर्न नसक्दा केही गाडी त्यतिकै थन्किएर बसेका छन् । पूर्वअर्थमन्त्रीद्वय युवराज खतिवडा र विष्णु पौडेलको पालामा पुराना गाडीको विवरण संकलन र व्यवस्थापन गर्ने मापदण्ड बनाए पनि कार्यान्वयन हुनसकेन ।

अर्थमन्त्री जनार्दन शर्माले कोभिड महामारीको कारण नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पारेकाले नयाँ गाडी खरिदमा अंकुश र पुराना गाडीको समुचित व्यवस्थापन गर्ने बताएका छन् । ‘रुपान्तरण गर्न सकिने देखिएका सवारीसाधन सम्बन्धित मन्त्रालय तथा निकायको आवश्यकता समेत एकीन गरी रुपान्तरण गर्न माग भई आएमा अर्थ मन्त्रालयले सहमति दिन सक्नेछ,’ मापदण्डमा उल्लेख गरिएको छ, ‘विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न नसकिने सवारीसाधन सम्बन्धित मन्त्रालय तथा निकायले मापदण्ड प्रारम्भ भएको मितिले चार महिनाभित्र अनिवार्य रुपमा लिलाम गर्नुपर्नेछ ।’

अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यले अवको भविष्य विद्युतीय गाडीको नै भएको बताउँदै यस्तो नीति ल्याएको बताए । ‘अबको युग विद्युतीय गाडीको नै हो । सरकारले पुराना गाडीलाई विद्युतीयमा रुपान्तरण गर्दा इन्धनको बचतसमेत हुन्छ’, शाक्यले भने, ‘सम्बन्धित निकायले अर्थ मन्त्रालयमा प्रस्ताव गरे हामीले अघि बढाउँछौँ ।’ हरेक वर्ष पुराना गाडीलाई व्यवस्थापन गर्नुपर्छ भनेर मापदण्ड बनेकै छन् । ती राम्रोसँग कार्यन्वय हुनसकेको छैन । अव्यवस्थित रहेका गाडीलाई व्यवस्थापन गर्न फेरि नीति ल्याएको शाक्यले बताए ।

अनुदान दिने रणनीति बन्दै

सरकारले विद्युत् खपतका लागि मुख्यसचिवको नेतृत्वमा बनेको कार्यदलले परम्परागत इन्धनका गाडीलाई विद्युतीयमा रुपान्तरण गर्दा सरकारले अनुदान दिन सक्ने विषयमा छलफल गरिरहेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले विद्युत् खपत बढाउने रणनीतिमा नेपालमा प्रयोग भइरहेका गाडीलाई विद्युतबाट चल्ने गरी रुपान्तरण गर्ने विषयमा छलफल भइरहेको नेपालखबरलाई बताए ।

‘सरोकारवाला निकायसँग छलफल गर्दा ५ लाख रुपैयाँमै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने सुझाव छ’, पोखरेलले भने, ‘सरकारीसँगै निजी सवारीसाधन विद्युतीयमा रुपान्तरण गर्दा अनुदान दिने विषयमा रणनीति बन्छ ।’ पेट्रोल डिजेलका गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्ने विषयमा राष्ट्रिय आविष्कार केन्द्रले परीक्षण गरिरहेको छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पुराना गाडीको इन्जिन फालेर विद्युतीय गाडीमा परिणत गर्नको लागि परीक्षण भइरहेको बताए ।

‘पुराना गाडीमा ब्याट्री र मोटर राखेर गुडाउने मात्रै नभई गाडीको कन्ट्रोल सिस्टम बनाएका छौँ,’ पुनले भने, ‘कन्ट्रोल सिस्टमको परीक्षण गर्ने र थप सुधार गर्ने लक्ष्य छ ।’ विज्ञहरुले सार्वजनिक यातायातको रुपमा प्रयोग भइरहेका गाडीलाई विद्युतीयमा सहजै रुपान्तरण गर्नसक्ने बताएका छन् । वातावरण तथा यातायातसम्बन्धी जानकार भूषण तुलाधर इन्धनबाट चल्ने गाडीलाई विद्युतीय बनाउनसके नेपालले धेरै फाइदा लिनसक्ने बताउँछन् । तुलाधरले राम्रो अवस्थामा भएका गाडीलाई मात्रै विद्युतीयकरण गर्न सकिने बताए ।

सरकारले इन्धनबाट चल्ने गाडीलाई विद्युतीयकरण बनाउनेसम्बन्धी कुनै कानुनी व्यवस्था गरेको छैन । अहिले व्यवसायीले मात्रै चाहेर इन्धनका गाडीलाई विद्युतीय बनाउन पाउँदैनन् । त्यसको लागि पहिला नीति बनाउनुपर्ने माग रहेको छ । ‘सरकारले कस्ता गाडी विद्युतीयकरण गर्नसक्ने, विद्युतीयकरण गर्दा कस्ता मापदण्ड आवश्यक बनाउने, कति ब्याट्री राख्न पाउने, कस्तो गाडीमा कति किलोवाटको मोटर प्रयोग गर्ने भन्ने विषयमा स्पष्ट मापदण्ड आवश्यक छ,’ तुलाधरले भने ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार १२:१२