जुम्ला । सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमले सञ्चालनमा आएको तीन वर्षसम्म पनि उल्लेख्य फड्को मार्न सकेको छैन । सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न बिमा कार्यक्रम ल्याएको दाबी गर्दै आएको छ । जुम्लाको जनसंख्या एक लाख ८ हजार रहेको छ ।
हिमा गाउँपालिकामा ४ हजार २०६ जना, सिजा ४ हजार ७१३ जना, पातारासीमा ७ हजार ५७१ जना, कनका सुन्दरीमा ४ हजार ९६५ जना, तिलामा ६ हजार ९८३ जना, तातोपानीमा ७ हजार ७६४ जना, चन्दननाथ नगरपालिकामा १२ हजार ३३४ जना र गुठीचौर गाउँपालिकामा ५ हजार ३४६ जना बिमितको संख्या रहेको छ ।
आर्थिक अभाव भोगिरहेका नागरिकलाई पनि सजिलैसँग स्वास्थ्य उपचार सेवाको पहुँचमा ल्याउनु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको भन्दै तातोपानी गाउँपालिकाले न्युनआय भएका नागरिककोलाई स्वास्थ्य बिमाको लागी २ हजार रकम आफै हालिदिने व्यवस्था गरेको छ । नागरिकले १५ सय मात्रै दिने भएका व्यवस्था छ ।
सरकारले स्वास्थ्य बिमा नाफाको उद्देश्य नराखी पूर्ण रूपमा सेवा भावले सञ्चालनमा ल्याएको दाबी गर्दै आएको छ । तर, जुम्लाका स्वास्थ्य बिमा गरेका विमित नै यो कार्यक्रमले असन्तुष्ट रहेको गुनासो गर्दै आएका छन् । नागरिकले बिमा गर्दा १ हजार १३२ प्रकारका औषधी बिमा गरेमार्फत निःशुल्क पाउने आश्वासन दिइन्छ ।
तर, जुम्लाका नागरिकले अधिकांश औषधी निजी मेडिकलबाट किनेर लिनुपर्ने बाध्यता रहेको स्थानीय देवीप्रसाद सिमखाडाले बताए । उनले भने, ‘नेपाल सरकारले दिँदै आएको ७२ प्रकारको औषधी निःशुल्क पाउनुपर्ने हो । टाउको दुखेको सिटामोल पनि किनेर लिने गरेका छौं ।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्राइभेट हस्पिटल हो ।
तर, त्यहाँ नेपाल सरकारले दिने ७२ प्रकारको औषधी निःशुल्क आउने गरेको छ । उपचारको लागि आउने बिरामीले ७२ प्रकारको औषधी पाएका छैनन् । सामान्य भाषामा भन्नुपर्दा स्वास्थ्य बिमा मानिसलाई आइपर्ने वित्तीय र स्वास्थ्य सम्बन्धी जोखिमहरूलाई न्यूनीकरण गर्नका लागि नेपाल सरकारले ल्याएको एउटा पारिवारिक स्वास्थ्यको महत्त्वपूर्ण कार्यक्रम हो ।
पातारासी गाउँपालिका पेरे गाउँकी उजेलू बुढा उपचारको लागी बिमा काड बोकेर प्रतिष्ठानमा आइन् । उनले सोचेकी थिइन सबै औषधी निःशुल्क पाइन्छ । छिटो उपचार हुन्छ । तर, उनले धेरै औषधी मेडिकलबाट किनेर ल्याएको बताइन् । प्रतिष्ठानमा उपचार गरेर एक दिनमै फर्किएको रेकर्ड छैन ।
‘एक दिन बास बस्नुपर्दा झन् खर्च बढ्ने गरेको छ,’ बुढाले भनिन्, ‘आएको दिन चेकजाँच गर्न पठाइन्छ । साँझ ५ बजेसम्म कुरे पनि रिपोर्ट हेर्ने डाक्टर आउँदैनन् । डाक्टरसँग रिपोर्ट देखाउनकै लागि अर्को दिन कुर्नुपर्ने हुन्छ ।’ तर, स्वास्थ्य बिमाबाट ११ हजार ४७ परिवार लाभान्वित भएको स्वास्थ्य बिमा दर्ता अधिकृत प्रेम बहादुर भण्डारी बताउँछन् ।
‘७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई एक परिवार मान्ने गरेको छ,’ उनले भने, ‘पालिकाले गरिब परिचयपत्र दिएको आधारमा रातो कार्ड पाएका नागरिकलाई निःशुल्क सेवा दिँदै आएका छौं ।’ केही पालिकाले गरिब परिचयपत्र नदिँदा उपचारमा समस्या भएको छ । अधिकृत भण्डारीका अनुसार यसअघि २५ सयको बिमा गरेबापत ५० हजार बराबरको उपचार पाउँथे । अहिले ३५ सयको बिमा गर्नुपर्ने हुन्छ । त्योबापत नागरिकले एक लाखको उपचार पाउने व्यवस्था छ ।
।