सूचनाको शक्ति - The Power Of Information

        

सहमतिय सम्बन्ध कि सुनियोजित बलात्कार ?

सहमतिमै शारीरिक सम्बन्ध, २७ लाखमा कुरा नमिलेपछि ‘बलात्कार’

सल्यान । सल्यानमा शारीरिक सम्बन्धको घटनालाई मिलाउन झण्डै २७ लाखको कुरामा बार्गेनिङ गरेको खुलेको छ । त्रिवेणी गाउँपालिका ६ लुहाममा एक बिवाहित महिला र एक युवकबीच लामो समयदेखिको शारीरिक सम्बन्ध २७ लाखमा कुरा नमिलेपछि बलात्कारको मुद्दामा प्रवेश गरेको हो । श्रीमान विदेशमा रहकी १९ वर्षीया ति विवाहित महिला दाङको तुलसीपुरमा बस्दै आएकी थिइन् ।

लुहामकै २७ वर्षीय युवक उनीसँग लामो समयदेखि सम्बन्धमा थिए । ‘घरपरिवारले समेत बुहारीको स्थानीय परपुरूषसँगको सम्बन्धबारे जानकारी पाएका थिए । केटाले ती महिलाई विवाह गर्ने भन्दै नेपालगन्ज, काठमाडौंमात्रै हैन केही दिन लुहामस्थित घरमै पनि ल्याएर राखेका हुन्,’ पक्राउ परेका युवकका एक आफन्तले भने । छोरा विदेशमा हुँदा बुहारी अर्कै केटासँग गएपछि घर परिवारका मानिस दसैंपछि युवकको घरमा पुगेर ठूलो आर्थिक माग राखे ।

‘बुहारी ती पुरूषसँग गएपछि उनको परिवारसँग घर परिवारले झन्डै २७ लाख जति रकम दाबी गर्न आए,’ ती आफन्तले भने, ‘तर, युवकका बुवाले आफूसँग पैसा नभएको हुँदा बरु छोरालाई नै लैजान आग्रह गरेपछि बल्ल घर परिवारले बलात्कारको मुद्दा हालेर फसाउने षडयन्त्र गरेका हुन् ।’ विदेशमा रहेका ती महिलाका श्रीमानले समेत आफ्नी श्रीमती अर्कैसँग गएको कुरा घर परिवारबाटै थाहा पाइसकेका छन् ।

तर, घर पक्षधरले जारी (श्रीमती अर्कैसँग गएपछि मागिने रकम)को लालचले बलात्कार मुद्दा हाल्न बुहारीलाई बाध्य पारेर युवकलाई फसाउने काम भएको ती आफन्तले दाबी गरे । ‘श्रीमतीको अर्कैसँग प्रेम सम्बन्ध भएर विवाह भई घरमा गइसके पनि पैसाको बार्गेनिङ नमिलेर बलात्कार मुद्दा हालेर फसाउनु राम्रो पक्ष हुँदै होइन,’ ती आफन्तले भने, ‘नियमले त पहिलेको श्रीमानलाई पनि बलात्कार मुद्दा लाग्नुपर्ने हो, किनकि केटीको उमेर अझै १९ वर्षमात्रै छ ।’

महिलाले जबरजस्ती बलात्कार गरेको भनेर इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी दिएपछि युवकलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरको आग्रहका आधारमा इलाका प्रहरी कार्यालय लुहामले उनलाई पक्राउ गरी बुधबार आवश्यक कानुनी कारबाहीका लागि दाङको तुलसीपुर पठाएको छ । तुलसीपुरमा बस्दै आएकी ति महिलाले कात्तिक ७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा युवकविरूद्ध किटानी जाहेरी दिएकी थिइन् ।

जोहरीपछि युवकलाई पक्राउ गरी दाङ ल्याउन लुहाम प्रहरीको सहयोग लिनुपरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । महिलाले जाहेरीमा असोज अन्तिममा आफूलाई युवकले ललाइफकाइ तुलसीपुर १३ दमारगाउँस्थित जंगलमा लगेर जबरजस्ती बलात्कार गरेको आरोप लगाएकी छन् । युवक पक्राउपछि घटनाका विषयमा अनुसन्धान भइरहेको डिएसपी अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार ११:१६