काठमाडौं । नेपालमा दुई महिनायता कोभिड १९ को संक्रमण घट्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । भारतमा संक्रमण उच्च भएसँगै नेपालमा पनि बढेको संक्रमण दर अहिले भारतको तुलनामा केही कम छ । संक्रमण कम हुनुलाई विज्ञहरुले विभिन्न ढंगले विश्लेषण गरेका छन् ।
नेपालमा पछिल्लो तथ्यांक
नेपालमा कात्तिक १ गतेदेखि ९ सम्म ६७ हजार ९९२ नमूनाको पीसीआर परीक्षण भएको छ । जसबाट ५ हजार ३१४ जना संक्रमित पहिचान भएको छ । यो आठ दिनमा ८८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । यही अवधिमा ७ हजार १७४ जना संक्रमणमुक्त भएका छन् ।
यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ८ लाख १० हजार २९८ पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या १० हजार २९६ रहेको छ । कोभिड संक्रमणबाट हालसम्म ११ हजार ३७२ जनाको मृत्यु भएको छ । नयाँ संक्रमित थपिने टेष्ट पोजेटिभिटी दर भने नेपालमा पछिल्लो एक महिनायता स्थिर छ । कात्तिक ९ गतेसम्म यो दर १.४ प्रतिशत छ ।
भारतको पछिल्लो अवस्था
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार १३ देखि १९ अक्टोबरसम्म भारतका चारवटा प्रदेशमा केस बढ्दो देखिएको छ । हरियाना पञ्जावलगायत क्षेत्रमा नवरात्री पर्वपछि संक्रमितको संख्या बढेको संगठको रिपोर्ट छ । महाराष्ट्रमा अहिले पनि सबैभन्दा बढी संक्रमण छ । त्यहाँ २० अक्टोबरसम्म ६० लाखभन्दा बढी संक्रमित रहेको संगठनको तथ्यांक छ ।
त्यस्तै केरलामा ४० लाखभन्दा बढी र कर्नाटक, तामिलनाडु, आन्द्र प्रदेशमा संक्रमितको संख्या २० लाखभन्दा बढी पुगेको छ । भारतमा भएको कुल संक्रमणमध्ये यी राज्यहरुमा ५६ प्रतिशत संक्रमित रहेको तथ्यांकमा उल्लेख छ । पूर्वी एसियाली राष्ट्रहरुमा जम्मा ४ करोड ३६ लाख ६४ हजार ११९ संक्रमित भएकामध्ये सबैभन्दा बढी भारतमा रहेको तथ्यांक छ ।
भारतमा शनिबारसम्म कोभिड १९ संक्रमितको संख्या ३ करोड ४१ लाख ५९ हजार ५६२ पुगेको छ । मृतकको संख्या ४ लाख ५३ हजार ७०८ छ । संक्रमणबाट ज्यान गुमाउनेमा दक्षिण भारतको केरला प्रदेशका बढी रहेका छन् ।
नेपालमा अब बढ्दैन संक्रमण ?
नेपालमा कोभिड १९ को संक्रमण कम हुँदै जानुलाई भाइरसको प्रकृतिसँगै खोपको प्रभावको रुपमा पनि बुझेका छन् । त्यस्तै पछिल्लो लहरमा नेपालमा एउटै भेरियन्ट देखिइरहेकाले पनि संक्रमणको अर्को लहर आउने संभावना कम भएको उनीहरुको बुझाइ छ ।
पछिल्लो समय नेपालमा देखिएको संक्रमणको सिनारियोले नेपालमा कोभिड संक्रमितको संख्या केही थपिए पनि यसअघिजस्तो लहरकै रुपमा संक्रमण उच्च हुने संभावना भने कम देखिन्छ । तर, सिजनल फ्लुको रुपमा भने लामो समय रहन सक्छ, वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन भन्छन् ।
‘नेपालमा स्वाइन फ्लु भित्रिँदा पनि सुरुवातमा संक्रमण उच्च देखियो र विस्तारै कम हुँदै गएको थियो । अहिले ए वान एन वान सिजनल फ्लुको रुपमा देखिने गरेको छ । कोभिड संक्रमण पनि यस्तै रुपमा देखिने सम्भावना पनि छ,’ डा.पुनले भने ।
त्यस्तै पछिललो समय परीक्षणका आधारमा संक्रमणको दर कम हुनुलाई कोभिड १९ विरुद्धको खोपको प्रभावको रुपमा पनि लिन सकिने डा.पुनको भनाइ छ । नेपालमा कात्तिक ९ गतेसम्म ६७ लाख ९ हजार ९०५ जनाले पूर्ण खोप लगाएका छन् । ८६ लाख ३२ हजार २९३ जनाले पहिलो डोज खोप लगाएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।
अर्को लहर आउने सम्भावना तत्काललाई छैन
नेपालमा तत्काल कोभिड संक्रमणको अर्को लहर आउने सम्भावना अत्यन्तै न्यून रहेको जनस्वास्थ्य अनुसन्धानकर्ता डा.समीरमणि दिक्षित बताउँछन् । विश्वमा नै अहिले नयाँ भेरियन्ट म्युटेन्ट नभएको र सबै मुलुकमा खोपको कभरेज बढ्दै गएकाले अर्को लहर आउने संभावना कम भएको डा.दिक्षितको भनाइ छ ।
नेपालको हकमा जोखिम वर्गमा परेका नागरिकहरुले कोभिड १९ विरुद्धको खोप लगाइसकेको हुनालो अब संक्रमण कम फैलिने आकंलन छ । ‘सेरो प्रिभिलेन्स सर्भेको रिपोर्टका आधारमा पनि नयाँ भेरियन्ट नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता बलियो देखिएकाले संक्रमण फेरी उच्च हुने संभावना कम देखिएको हो । तर, संक्रमणको संख्या केही घट्नेबढ्ने भने हुनसक्छ,’ डा.दिक्षितले भने ।
सरकारले गत असारमा गरेको डा.दिक्षितसमेत सहभागीे सेरो प्रिभिलेन्स सर्भेमा देशभरबाट संकलन गरिएका ६८.६ प्रतिशत नमूनामा कोभिड १९ को एन्टिबडी देखिएको रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको थियो ।
।