सूचनाको शक्ति - The Power Of Information

        

नेतृत्व छान्दै गाडी बिक्रेता, श्रेष्ठ र दाहालको दावी


काठमाडौं । नाडा अटोमोबाइल एसोसियसन अफ नेपाल(नाडा)मा चुनावी चटारो सुरु भएको छ । चैत २६ गते हुने साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नाडाको अध्यक्ष पदमा वर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ र उपाध्यक्ष शम्भु दाहालले इच्छा देखाएका छन् ।
‘अञ्जन श्रेष्ठ र शम्भु दाहालले अध्यक्ष बन्ने इच्छा देखाउनुभएको छ, हामी सहमतिको प्रयास गरिरहेका छौं । दुबै जनालाई मिलेर अघि बढ्न दबाव दिइरहेका छौं,’ नाडाका महासचिव कृष्णप्रसाद दुलालले भने । श्रेष्ठ हुण्डाईका सवारी साधानहरुको आधिकारिक नेपाली बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका हुन् भने दाहाल टाटा मोटर्सको नेपाली आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङका हुन् ।
९६४ जना मतदाता रहेको नाडाले आफ्नो बिधान संसोधन गरेर प्रादेशिक संरचनामा रुपान्तरण गर्ने तयारी पनि गरिरहेको छ । ‘हामीले विधान संसोधन गरेर संघिय मोडलमा जानेबारे छलफल सुरु गरेका छौं’, महासचिव दुलालले भने । हाल नाडाको केन्द्रिय कार्यसमितिका अलवा चितवन, हेटौँडा र पोखरामा शाखा छन् । प्रत्येक प्रदेशबाट केन्द्रिय कार्यसमितिमा एक जनाको प्रतिनिधित्व सुनिश्चित हुने गरि विधान संसोधनको तयारी भैरहेको पनि उनले जानकारी दिए । अहिले नाडामा २३ सदस्यिय कार्य समिति छ ।
जसमा अध्यक्ष र निवर्तमान अध्यक्षबाहेक उपत्यकाबाट १४ जना, उपत्यका बाहिरबाट ४ जना र ३ जना मनोनयन हुने गरेको छ । साधारण सभाबाट अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था छ भने कार्य समिति सदस्यहरुमा निर्वाचितहरु मध्येबाट उपाध्यक्ष, महासचिव लगायतको चयन गर्ने चलन छ । श्रोतका अनुसार चुनावको मुखमा नाडामा ५ सय जना नयाँ सदस्य थपिएका छन् । नयाँ सदस्यता शुल्क, पुरानाको नविकरण र निर्वाचनमा उम्मेदवारी दर्ताको शुल्क जोड्दा नाडाको कोषमा एक करोड रुपैंयाँ जम्मा हुने बताइन्छ ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार ०७:१२