बाँके । अन्य समयभन्दा चाडपर्वका बेला भने जुवाडेहरु निकै सक्रिय हुन्छन् । बाँकेमा चाडपर्वका समयमा मात्रै होइन अरु बेला पनि व्यावसाय नै बनाएर जुवातास खेल्ने समूह हुन्छ । सधैंजसो जुवातास चलिरहन्छ, जुवाडेहरु पक्राउ परिरहन्छन् । अन्य समयमा भन्दा चाडपर्वका बेला जुवाडेहरु बढी पक्राउ पर्छन् । तर, यस बर्ष चाडपर्वका समयमा बाँकेमा जुवातास घटेको प्रहरी तथ्यांक छ ।
रमाइलोका नाममा चाडपर्वलाई आर्थिक आर्जनको मेसो बनाउन थालेपछि नेपालमा जुवातासलाई प्रतिबन्ध लगाइएको छ । तर पनि चाडपर्वका बेला जुवातास खेल्ने र खेलाउने गिरोह निकै सक्रिय भएर लाग्ने गरेको प्रहरी बताउँछ । प्रहरीकै संरक्षणमा जुवातास खेल्ने र खेलाउने गरेको भन्दै बेलाबखत प्रहरी नै विवादमा तानिने गरेको छ भने कहिलेकाहीँ हाइप्रोफाइल व्यक्तिहरुसमेत जुवा खालबाट समातिने गरेका समाचारहरु आइरहन्छन् ।
प्रहरी प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक बर्षको साउनदेखि कात्तिक ९ गतेसम्म न्यून संख्यामा जुवाडेहरु पक्राउ परेका छन् । त्यो पनि चाडपर्वको समयमा पक्राउ परेको बाँके प्रहरीले जनाएको छ । बाँकेमा यस अवधिमा जुवातास सम्बन्धी ३ वटा मुद्दा मात्रै दर्ता भएका छन् भने त्यसमा १३ जना जुवाडे पक्राउ परेका छन् । ती जुवाडेबाट ४ लाख २१ हजार ५०५ रुपैयाँ बरामद भएको बाँके प्रहरीको तथ्यांक छ ।
पछिल्लो समयमा न्यून संख्यामा जुवाडेहरु पक्राउ पर्नुलाई सकारात्मक रुपमा लिइएको छ । चाडपर्वका समयमा जिल्लाका विभिन्न भागमा गैरकानूनी रुपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध प्रहरीले सक्रियता बढाइसँगै जुवाखाल अपवादमा मात्रै सञ्चालन हुनु र पक्राउ परेका जुवाडेहरुको संख्या कम भएको प्रहरीको दावी छ । प्रहरीको सक्रियता बढेसँगै सोमबार मात्रै कोहलपुर क्षेत्रबाट ६ जनालाई पक्राउ गरेको छ ।
जुवातास खेल्ने/खेलाउनेविरुद्ध आक्रमक रणनीति बनाएर सक्रिय रहेको प्रहरीले गोप्य सूचनाकै आधारमा कोहलपुर नगरपालिका वडा नं. ८, पिपरीस्थित स्थानीय रुद्रविर खड्काको घरमा चलिरहेको जुवाखाल नियन्त्रणमा लिएर उक्त जुवाखालबाट ३ लाख ४९ हजार ७०५ रुपैयाँ, दुई गड्डी तास र जुवा खेल्न बिछ्याइएको चटाई बरामद गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
व्यवसायिक रुपमा जुवातास खेल्ने/खेलाउने व्यक्ति र संस्थालाई अनुसन्धान गरेर कारवाही गर्ने रणनीति लिएपछि जुवा खेल्नेको संख्यामा कमी आएको बाँके प्रहरीको दावी छ । जुवातासका कारण समाजमा फैलिएको विकृति रोक्न प्रहरीले जुवा खेल्ने स्थानमा छापा मार्ने, जुवा खेल्दै गरेको सूचना दिनेलाई प्रोत्साहन गर्ने, समाजमा जुवातासको कुलतवाट हुने नोक्सानीको बारेमा सचेतना प्रदान गर्ने र सुरक्षा व्यवस्था कडा गर्ने रणनीति अख्तियार गरेको छ ।
प्रहरीले पटक पटक जुवाडे नियन्त्रणमा लिन थालेपछि बाँकेमा जुवा खेल्ने क्रममा कमी आएको प्रहरीको दावी छ । होटल तथा जुवाखालहरुमा प्रहरीले दिनहुँजसो निगरानी बढाउन थालेपछि खेल्ने र खेलाउने कार्य निकै कम भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । उनले भने, ‘दैनिक मौलाउँदै गएको जुवातास रोक्न प्रहरी सक्रिय बनेको छ । जुवातास रोक्न नागरिकको सहयोग पनि उत्तिकै जरुरी छ ।’
सोमबार कोहलपुर नगरपालिका वडा नं. ८, पिपरीस्थित स्थानीय रुद्रविर खड्काको घरमा चलिरहेको जुवाखालबाट बरामद गरिएको नगद, तास र जुवा खेल्न बिछ्याइएको चटाई ।
विद्युतिय कारोबारतिर जुवातास
प्रविधिको दुरुपयोग गर्दै जुवाको कारोबार विद्युतीय माध्यमबाट समेत हुन थालेको छ । भुक्तानी सेवा प्रदायक इसेवा, खल्तीका साथै बैंकमार्फत जुवाको कारोबार हुन थालेको छ । प्रहरीको झन्झटबाट सहजै उन्मुक्ति पाउने भएपछि विद्युतिय कारोबार गर्न थालेको नाम नबताउने शर्तमा नेपालगन्जका एक जना जुवाडेले बताए । उनले भने, ‘खेल खेल्दा खालमा नगदै रकम नराखेर विद्युतीय कारोबार गर्दा प्रहरीले भेट्टाइहाले पनि उम्किन सहज हुन्छ ।’
उनका अनुसार प्रहरी जुवाखालमै पुगे पनि जुवाको रकम विद्युतीय भुक्तानीको माध्यमबाट सम्बन्धित व्यक्तिको खातामा पुग्ने गरेकाले प्रहरीले नगदै भेट्टाउन नसक्दा नगद रकम सुरक्षित हुने जुवाडेहरुको दावी छ । यद्यपी बाँकेमा विद्युतीय कारोबार न्यून तर हाई प्रोफाइल जुवाडेहरुका बीचमा मात्रै सिमित रहेको स्रोतले बतायो । पछिल्लो समयमा प्रहरीले जुवाको खालबाट रकम बरामद गर्न थालेपछि विद्युतिय कारोबार सुरु गरिएको अनुमान छ ।
स्रोतका अनुसार व्यावसायिक जुवाखालमा नगद कारोबार सुक्दै गएको र विद्युतीय माध्यमबाट रकम भुक्तानी गर्ने शैलीलाई बाँकेका हाई प्रोफाइल जुवाडेहरुले प्रयोगमा ल्याउन थालेका छन् । जुवामा कारोबारको शैली फेरेपछि प्रहरीलाई अनुसन्धान गर्न पनि सकस हुने भएकोले विद्युतिय कारोबार थप फस्टाउने र यसले समाजमा गम्भीर विकृति ल्याउने भएकाले प्रहरीले विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनीलाई पनि निगरानीमा राख्नुपर्ने जानकारहरु बताउँछन् ।
पछिल्लो समयमा जुवातासका घटनामा मिटर ब्याजीको कनेक्सन पनि देखिने गरेको छ । ठूला रकमका चेक बाउन्सको मुद्दामा अनुसन्धान गर्दा बेलाबखत त्यस्ता चेकहरु जुवा खेल्नेहरुले दिएको पाइने गरेको प्रहरी बताउँछन् । आर्थिक लेनदेनका क्रममा ती चेकहरु कुनै न कुनै रुपमा अन्य व्यक्तिसम्म पुग्ने गरेपछि जुवातासका घटनामा मिटर ब्याजीको कनेक्सन देखिने गरेको पनि प्रहरीले जनाएको छ ।
के सजाय हुन्छ ?
जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ । नयाँ अपराध संहिता लागु हुनुअघि सजायको व्यवस्था निकै कम भएको धेरैको मत थियो । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलो पटक पक्राउ परे २०० रुपैयाँ जरिबाना र दोस्रो पटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो । तर २०७५ भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ ।
उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ । दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने व्यवस्था छ । जुवा खेल्न प्रयोग भएको साधन र जुवाखालमा प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ । तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारी साधन भने जफत हुँदैन ।
।