सूचनाको शक्ति - The Power Of Information

        

उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड नगर्न सुझाव


कविता उपाध्याय । लिबाङ (रोल्पा) । ‘तपाईहरु प्रतिष्पर्धाका माझ स्वस्थ प्रतिष्पर्धा गर्नुस् । तर झुक्किएर पनि उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड नगर्नुस्,’ हिजो एकाविहानै रोल्पा जिल्लाका निमित्त सहायक प्रमुख जिल्ला अधिकारी चुडामणी शर्माले ब्यापारीहरुलाई सुझाव दिए ।
‘उपभोक्ता जागरण अभियानमा स्थानीय तहको सक्रियता’ भन्ने मूल नाराका साथ विश्व उपभोक्ता दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् । उनले सडेगलेका, म्याद नाघेका तथा मिसावटयुक्त खाद्य सामाग्रीहरु विक्री वितरण नगर्न समेत सुझाव दिएका छन् ।
‘तपाइहरुको ब्यापार ब्यवसायमा अखाद्य सामाग्रीहरु छन् भने आजै हटाइहाल्नुस् । प्रशासनले घचघचाएमा मात्र सक्रिय हुने होइन । अन्यथा अनुगमनका क्रममा त्यस्तो देखिन आएमा तपाई कानूनी कारबाहीमा जानुपर्ने हुन सक्छ,’ उनले उद्योगी तथा ब्यापारीतर्फ इङ्गित गर्दै भने ।


स्थानीय निकाय सक्रिय भएर लागेमा प्रशासन होष्ठेमा हैसे गर्न तयार भएको समेत उनले जानकारी गराए । यस्तैै रोल्पा नगरपालिकाका उपप्रमुख मनकुमारी घर्तीमगरले समान किनमेलाका क्रममा सामानको गुणस्तरका बारेमा उपभोक्ताहरु आफै सक्रिय हुनपर्नेमा जोड दिइन् ।
कार्यक्रममा बोल्दै रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण सुवेदीले ब्यापारीहरुले सामान विक्री वितरणका क्रममा नेपाल सरकारले तोकेका नियमहरु पालना गर्नुपर्ने तथा उपभोक्ताहरु स्वयं पनि चनाखो बन्नुपर्नेमा जोड दिए । यस्तै नेपाल पत्रकार महासंघ रोल्पाका उपाध्याक्ष देवी गुरुङले जिल्लामा रहेको उपभोक्ता समिति तथा उद्योग वाणिज्य संघ सक्रिय रुपमा अगाडि बढ्नुपर्ने बताइन् ।
कार्यक्रममा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । दिवसका अवसरमा लिबाङको टुडिखेलबाट निष्किएको ¥याली लोकतान्त्रिक चोक हुँदै जिल्ला पशुसेवा कार्यालयबाट पुनः टुडिखेलमा पुगी कोण सभामा परिणत भएको थियो । कार्यक्रमको संचालन विपिन कुवरले गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार ०३:२३