सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिमका पहाडतिर उडान भर्दै निगमका विमान

धनगढी । नेपाल वायु सेवा निगमको विमानले सुदूरपश्चिमका पहाडी जिल्लामा उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि निगमको विमानले उडान भर्ने भएको हो ।

बेमौसमी वर्षासँगै आएको बाढी–पहिरोले पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले नागरिकलाई सहज रुपमा सेवा दिन निगमका जहाजलाई उडान भर्न मन्त्री आलेले निर्देशन दिएका थिए ।

सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा र डोटीमा निगमले कैलालीको धनगढीबाट आइतबारदेखि नियमित सेवा सञ्चालन गर्ने नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए ।

उनले भने, ‘बाजुरामा हाम्रो जहाज सञ्चालन थियो, अब मन्त्रीज्युको निर्देशनपछि बझाङ, बाजुरा र डोटीमा नियमित हवाइ उडान सञ्चालन हुने छ ।’ बाढी–पहिरोको क्षति निरीक्षण तथा अवलोकनका लागि सुदूरपश्चिम पुगेका मन्त्री आलेलाई नागरिकले सडक अवरुद्ध हुँदा समस्या भएको र जहाज सञ्चालनका लागि आग्रह गरेका थिए ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा सहुलियत भाडा दर कायम गरी हवाइ उडान गर्ने योजना रहेको वायुसेवा निगमको कार्यालयले जनाएको छ । मन्त्री आलेकै निर्देशनमा नेपाल वायुसेवा निगमले आइतबारदेखि धनगढी–काठमाडौं पनि उडान गर्ने भएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार ०८:२८