सूचनाको शक्ति - The Power Of Information

        

एमाले उपाध्यक्ष भीम रावलले दिए कार्यदलबाट राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नरहेको बताएपछि आफूले कार्यदलबाट राजीनामा दिएको बताएका छन् ।

शुक्रबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले नै १० बुँदेको औचित्य नरहेको बताएपछि आफूले फरक मत राखेर कार्यदलबाट राजीनामा दिएको बताएका हुन् ।

उनले शुक्रबारको स्थायी कमिटी बैठकमा कार्यदलबाट राजीनामा दिने घोषणा गरेका थिए । उनी १० बुँदे कार्यान्वयनका लागि गठित कार्यदलका संयोजक थिए । नेता रावलले एमालेको एकता जोगाउन आफूले सक्दो प्रयास गरेको पनि उल्लेख गरेका छन् ।

‘एमालेको एकता जोगाउन वार्ता, सहमति, कमिटी बैठक र कार्यदलमा इमान्दारीका साथ भरमग्दुर प्रयास गरेँ । १० बुँदे सहमतिको कार्यान्वयनमा जोड दिएँ । तर, आज स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्षबाट नै १० बुँदे सहमतिको औचित्य नरहेको धारणा प्रकट भएपछि फरक मत दर्ज गर्दै कार्यदलबाट राजीनामा दिएको छु,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार ०८:१४