काठमाडौं । बाढीका कारण कृषितर्फ एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लगाइएको सात अर्ब रुपैयाँ बराबरको धान बालीमा क्षति भएको छ । सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा चार अर्ब ५१ करोड ४२ लाख ५४ हजार ८० रुपैयाँको क्षति भएको छ । लुम्बिनी प्रदेशमा मात्र ४२ हजार ४२७ हेक्टरमा लगाएको बालीमा बाढीले क्षति पुर्याएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विवरण अनुसार लुम्बिनी प्रदेशमा रहेको १२ वटा जिल्लामा रुपन्देहीमा सबैभन्दा ठूलो क्षति भएको छ । किसानले ३६ हजार ४८० हेक्टर क्षेत्रफलमा धान काटेर खेतमै छाडेका छन् । जसमध्ये ६५ प्रतिशत अर्थात् २३ हजार ७१२ हेक्टर क्षेत्रफलमा राखिएको धानमा क्षति पुर्याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
९३ हजार ५७६ हेक्टर क्षेत्रफलमा रहेको धान खेतमै ढलेको छ, त्यसमध्ये २० प्रतिशतमा क्षति पुगेको छ । त्यसैगरी सुदूरपश्चिममा एक अर्ब ९१ करोड रुपैयाँ र प्रदेश १ मा ८० करोड रुपैयाँ बराबरको धान बालीमा क्षति भएको छ । सुदूरपश्चिम प्रदेशमा १८ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा पूर्ण क्षति पुर्याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
सो प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा लगाइएको धान बालीमा अत्यधिक क्षति पुर्याएको छ । कृषि मन्त्रालयका अनुसार कैलाली जिल्लामा करिब ५४ प्रतिशत र कञ्चनपुर जिल्लामा करिब ४२ प्रतिशत धान बालीमा क्षति पुर्याएको छ । प्रदेश १ मा तीन लाख ३६ हजार हेक्टरमा धान रोपाईं भएको थियो ।
रोपाईं भएको मध्ये ४९ हजार ९४५ हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुर्याएको कृषि मन्त्रालयले जनाएको छ । त्यसमध्ये सबैभन्दा बढी झापा जिल्लामा १३ हजार १२५ हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुर्याएको छ । कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले अन्य प्रदेशबाट विवरण आउने क्रम जारी छ ।
।