सूचनाको शक्ति - The Power Of Information

        

यसरी जोगाउनुस् धानबाली

भिजेको धानलाई कसरी सुरक्षित बनाउने ?

काठमाडौं । झरीले भिजेको धानलाई सुरक्षित बनाउन विभिन्न उपाय अपनाउन विज्ञले सुझाव दिएका छन् । धानबाली विज्ञ हरिकृष्ण उप्रेतीका अनुसार सबैभन्दा पहिले भिजेको धानलाई हलुकासँग उठाएर सुक्खा ठाउँमा राख्नुपर्छ ।

उम्रेर नोक्सान हुनबाट जोगाउनका लागि धेरै चिसो वा धेरै तातो ठाउँमा राख्न्हुँदैन । नकाटेको धान ढलेको भए पानी तर्क्याउने र पानी सबै सुकेपछि मात्र काट्न उनले सुझाव दिएका छन् ।

यस्तै झार्न सम्भव भएको ठाउँमा धान चिसै भए पनि झारेर ओभानो ठाउँमा लगेर राख्नुपर्छ । चिसो धानलाई एक्कासी तातो ठाउँमा राख्नुहुँदैन । चिसो धानलाई एक्कासी तातो ठाउँमा राख्दा उम्रने सम्भावना रहन्छ ।

धान राख्दा चिस्यान प्रतिशत १४ भन्दा कम हुनुपर्ने उनले बताए । नकाटेको धान डुबेको भए चिन्तित हुन नपर्ने उप्रेतीले बताए । नकाटेको धान डुबेको भए पनि पछि झार्दा धेरै नोक्सान नहुने धानबाली विज्ञ उप्रेतीको भनाइ छ ।

वर्षाका कारण देशका धेरै ठाउँमा धान बाली डुबेको छ । कतिपय ठाउँमा काटिसकेको धान पानीमा भिजेको छ भने कतिपय ठाउँमा दाना नै नलागेको धान ढलेको छ । दाना नै नलागेको धान डुबेको अवस्थामा भने त्यसलाई सुरक्षित गर्न नसकिने उनले बताए ।

वर्षाका कारण १० देखि १५ अर्ब रुपैयाँ बराबरको धानबाली नोक्सान भएको सरकारको अनुमान गरेको छ । तर तथ्याङ्क सङ्कलनको काम भइरहेकाले यकिन तथ्याङ्क आउन भने बाँकी नै छ ।

किसानले बेहोर्नुपरेको क्षतिपूर्ति कसले र कसरी दिन्छन् भन्ने अझै टुङ्गो लागेको छैन । किसानको क्षतिपूर्ति उपलब्ध गराउने एकमात्र उपाय बाली बीमा भए पनि कतिपय किसानलाई अझै पनि बाली बीमाबारे थाहा नभएकाले समस्या निम्तिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार १३:०९