सूचनाको शक्ति - The Power Of Information

        

समाचार

प्रधानमन्त्री देउवा नेतृत्वको टोली सुदूरपश्चिमतर्फ, साँझ धनगढीमा बास

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सुदूरपश्चिमका जिल्लाहरुमा बाढीपहिरोले पुर्याएको क्षति निरीक्षणका लागि त्यसतर्फ उडेका छन् । प्रधानमन्त्री देउवा बिहान ८ बजे बालुवाटारबाट हेलिकोप्टरमार्फत सुर्खेतका लागि उडेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेताहरु एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर रहेका छन् । सुर्खेतबाट हेलिकप्टरबाट डोटी, बझाङ, डडेल्धुरा कञ्चनपुर हुँदै धनगढी पुग्नेछन् । धनगढीमा प्रधानमन्त्रीको टोली होटल डिभोटीमा बस्नेछन् ।

प्रधानमन्त्री देउवा भोलि काठमाडौं फर्कने कार्यक्रम रहेको छ । आइतवारबाट परेको वर्षाका कारण सुदूरपश्चिममा २८ जनाको मृत्यु भइसकेको छ भने कैयन् धानबालीमा क्षति पुगेको छ । बाढीका कारण केही मानिसहरु अझै बेपत्ता रहेका छन् । बाढीग्रस्त क्षेत्रमा प्रधानमन्त्री देउवाले निरीक्षण गर्नेछन् ।

यस्तो छ कार्यतालिका

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार १०:०२