सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा तरकारी टिप्न गएकी गृहणीको करेन्ट लागेर मृत्यु

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–४ बानियाँभारमा मंगलबार बिहानको तरकारी पकाउने बोडी टिप्न गएकी एक गृहणी महिलाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ ।

सोमवार साँझ हावाहुरी सहितको बर्षा हुँदा विभिन्न ठाउँमा विद्युतका पोलहरू ढलेका कारण तारहरू भुईमा लत्रिएको जानकारी स्थानीय वासिन्दाले फोन मार्फत जानकारी दिदा पनि ढलेका पोल नउठाइकन मंगलवार विहान कोहलपुर विद्युत नेपाल विद्युत प्राधिकरणको कोहलपुर सब–स्टेशनले करेन्ट छोडेपछि तरकारी टिप्न गएकी स्थानीय ईन्द्रमायाँ कुवँरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसूधन न्यौपानेले जानकारी दिए ।

बिहान करिव १० बजे घटेको सो घटना विद्युत प्राधिकरण कोहलपुरको लापरवाहीका कारण करेन्ट लागेर अकालमा महिलाको मृत्यु भएको भन्दै बैजनाथ गाउँपालिका–४ वानियाभारमा स्थानीयले केही समय कोहलपुर–सुर्खेत सडकखण्डमा चक्का जाम गरेका थिए । उनीहरुले बिद्युत प्राधिकरणको लापरवाहीले कुँवरको ज्यान गएको भन्दै शव समेत उठाउन दिएका थिएनन ।

विद्युतको पोल ढलेर तारले बोडीकोे झयाङ्गमा आल्झिएको नदेखेर बोडी टिप्पन गएकी करीव ४५ बर्षिय कुवँरको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्त, विद्युत प्राधिकरणका कर्मचारी, प्रहरी घटनास्थलमा पुगेर घटनाको अध्ययन अनुसंधान गरी क्षतिपूर्ती लगायत उपलब्ध गराउने गरी सहमति भई शव पोष्टमार्टमको लागि पठाईएको प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार १७:३३