सूचनाको शक्ति - The Power Of Information

        

विपद व्यवस्थापन टोली

बाँकेको राप्ती नदीको भंगालोमा फसेका चार जनाको १३ घण्टापछि उद्दार

उद्दार पश्चात स्थानीय प्रहरीको जिम्मा

बाँके । बाँकेको राप्ती नदीको भंगालोमा फसेका ४ जनालाई सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले उद्दार गरेको छ।

डुडुवा गाउँपालिका  ४ का  ३० वर्षीय  प्रमोद लोनिया, ६५ वर्षीय महोमद नजिर, ५७ वर्षीय सौखद नाउ र ५५ वर्षीय साक्बिर खालाई १३ घण्टापछि सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट गएको सशस्त्र प्रहरी निरीक्षक धनबहादुर बोहराको विपद् व्यवस्थापन टोलीले सकुशल उद्दार गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।

डुडुवा गाउँपालिका ५ मा पर्ने खजुरा खोला तरेर सोमबार बिहान ११ बजे जंगली करेली खोज्न गएका ती ४ जना साँझ फर्किने क्रममा वर्षाका कारण राप्ती नदी  बढेका कारण खजुरा खोला र राप्तीको भंगालोमा फसेका थिए ।

उनीहरुलाई इलाका प्रहरी कर्यालय बनकटी ‘क’ बाट गएको प्रहरी नायब निरीक्षक गोपाल शर्माको प्रहरी टोली र स्थानीयको सक्रियतामा सकुशल उद्दार गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको  छ।

नदीको भंगालोमा फसेको सशस्त्र प्रहरीले सोमबार बेलुकी ७ बजे जानकारी पाउनासाथ सशस्त्र प्रहरी निरीक्षक बोहरासहित विपद व्यवस्थापनको ११ जनाको टोली त्यसतर्फ प्रस्थान गरेको थियो।

राप्ती नदीमा भेल ठूलो भएका कारण रातभरको उद्दार पश्चात चार जनाको मंगलबार बिहान ८ बजे मात्र उद्दार सफल भएको सशस्त्र प्रहरीले बताएको छ। उद्दार पश्चात ४ जनालाई स्थानीय प्रहरीको जिम्मा लगाई घर पठाइएको छ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार ११:०९