सूचनाको शक्ति - The Power Of Information

        

दशकदेखि एक जना कर्मचारीकै भरमा कार्यालय

सुर्खेत । कर्णालीका सुर्खेत, हुम्ला, डोल्पा, दैलेख, जाजरकोट र रुकुमपश्चिम जिल्लामा खाद्यवस्तुको गुणस्तर मापन र त्यसको नमुना जाँच गर्ने जिम्मा पाएको कार्यालयमा एक जना कर्मचारीले करिब एक दशकदेखि काम गर्दै आएका छन् ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतमा पर्याप्त कर्मचारीको व्यवस्था नहुँदा एक जना कर्मचारीको काँधमा ६ जिल्लाको अनुगमन गर्नुपर्ने बाध्यता आइलागेको हो । कार्यालयका प्रमुख भेषबहादुर थापालाई खाद्य तथा बजार अनुगमन गर्न यतिबेला भ्याइनभ्याइ छ ।

चाडपर्वको मुखमा र त्यसअघि हुने नियमित अनुगमनमा उनलाई समय मिलाउनुपर्ने बाध्यता छ । सो डिभिजन कार्यालयमा ६ जना कर्मचारीको दरबन्दी भए पनि विगत तीन वर्षदेखि एक्लै कामकाज गर्दै आएको प्रमुख थापाले बताए । कार्यालयमा प्राविधिक सहायक चार जना, कार्यालय प्रमुख र कार्यालय सहयोगीको दरबन्दी छ ।

थापाले जनशक्ति अभावका कारण ६ वटा जिल्लाको काम जेनतेन एक्लैले गर्दै आएको बताए । उनले काम विशेषले कार्यालय बाहिर जानुपर्दा जिम्मेवारी सम्हाल्ने अर्को कर्मचारी नहुँदा समस्या हुने गरेको उल्लेख गरे । केही दिनअघि तीन जना कर्मचारी आएपछि भने अब काम गर्न सहज हुने अपेक्षा उनको छ ।

कर्णालीको भौगोलिक अवस्था, ठूलो कार्य क्षेत्र र जोखिमपूर्ण यात्रा गर्नुपर्दा पनि सहकर्मीबिना एक्लैले काम गर्नु परेकाले निकै गाह्रो भएको दुःखेसो उनको छ । खाद्य ऐन, २०२३ र दाना पदार्थ ऐन २०३३ अन्तरगत रहेर बन्द तथा खुला १२० प्रकारका खाद्यवस्तुको लेबल तथा तिनको गुणस्तरको नमुना लिएर जाँच गर्नुपर्ने भएता पनि खाद्य पदार्थको गुणस्तर जाँच्नका लागि कर्मचारी र ल्याबको समस्या भएको उनको गुनासो छ ।

यसैबीच सुर्खेतमा उक्त कार्यालयको प्रदेशस्तरीय कार्यालय स्थापना हुँदैछ । २२ जनाको दरबन्दीसहित प्रयोगशाला निर्माण हुने तयारीमा रहेको जानकारी प्रमुख थापाले दिए । प्रमुख थापाका अनुसार गत वर्ष कार्यालयले १० वटा मुद्दा दायर गरेको थियो । पाँच वटा अदालत र पाँच वटा जिल्ला प्रशासनमा मुद्दा दायर गरिएको थियो । पछिल्लो समय अनुमति नलिने, नवीकरण गर्नेजस्ता काम भइरहेको भन्दै उनीहरूलाई सुरुमा सचेत गराउने र पछि अटेर गरेमा कारबाहीसमेत गर्ने गरिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार ११:३५