सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य

सुदूरपश्चिममा घट्दै अन्धोपन

सर्वेक्षणले सुदूरपश्चिममा ५० वर्षमाथि उमेर समूहका कुल जनसङ्ख्यामध्ये ०.५ प्रतिशतमा अन्धोपनको समस्या देखाएको छ ।

कैलाली । पछिल्लो १२ वर्षपछि सुदूरपश्चिम प्रदेशको गेटा आँखा अस्पतालले गरेको तेस्रो सर्वेक्षणमा यो प्रदेश देशभरमै कम अन्धोपनमा कमी आउँदै गएको पाइएको हो । ४० वर्षदेखि सञ्चालित गेटा आँखा अस्पतालका कारण अन्धोपन र मोतीबिन्दुको समस्यामा सुधार हुँदै गरेको दाबी सो सर्वेक्षणको छ ।

आँखाका बिरामीको अवस्था, आँखा रोग सङ्क्रमण लगायतका पक्षबारे जानकारी प्राप्त गर्न र आँखा अस्पतालको आगामी कार्यक्रम, नीति तथा गुरुयोजना निर्माणमा मद्दत पुर्याउने उद्देश्यले २०७७ मा तेस्रोपटक अन्धोपनको सर्वेक्षण भएको थियो । सर्वेक्षणले ५० वर्षमाथि उमेर समूहका कुल जनसङ्ख्यामध्ये ०।५ प्रतिशतमा अन्धोपनको समस्या देखाएको छ ।

यसअघिको तथ्याङ्कअनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये ०.४१ प्रतिशत दृष्टिविहीन थिए । २०६५ मा सुदूरपश्चिममा ६२ प्रतिशतमा मोतीबिन्दुको समस्या थियो। अहिले सो सङ्ख्या घटेर ३६ प्रतिशत छ । आँखा अस्पतालले अन्धोपन सर्वेक्षणका लागि नेत्र विशेषज्ञको नेतृत्वमा तीनवटा टोली गठन गरेको थियो ।

अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले प्रदेशका नौवटै जिल्लाका १३२ स्थानमा अन्धोपनको सर्वेक्षण गरेको बताए । नेपालमा कुल अन्धोपनमध्ये ८२ प्रतिशत ५० वर्षमाथि उमेर समूहका व्यक्ति रहने गरेका कारण तेस्रो पटकको अन्धोपन सर्वेक्षणमा सोही समूहलाई समेटिएको उनले बताए ।

सो क्रममा सर्वेक्षणका लागि छनोट भएका प्रत्येक स्थानमा ३५ जनाको आँखा परीक्षण, मधुमेह तथा दृष्टिदोषको कारण लगायतबारे सर्वेक्षण गरिएको थियो । यस पटकको अन्धोपनको सर्वेक्षणमा चार हजार ६२० जनालाई समावेश गरिएको व्यवस्थापक भट्टले बताए । विद्यालयमा आधारित विद्यार्थीको दृिष्टदोषबारे पनि सर्वेक्षण गरिएको बनाइएको छ ।

उनका अनुसार धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका १८ वटा विद्यालयमा पाँचदेखि १० कक्षामा अध्ययनरत विद्यार्थीलाई समावेश गरेर दृष्टिदोषबारे सर्वेक्षण गरिएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक सन् १९८१ मा अन्धोपनको सर्वेक्षण गरिएको थियो । त्यस क्रममा प्रदेशको सेती अञ्चलमा १.२ प्रतिशत र महाकाली अञ्चलमा ०.८ प्रतिशत जनसङ्ख्यामा अन्धोपना देखिएको थियो ।

‘३८ वर्षअघि गरिएको पहिलो सर्वेक्षणमा अन्धोपनको मुख्य कारण मोतीबिन्दु रहेको थियो भने दोस्रो कारण ट्रकोमा थियो,’ व्यवस्थापक भट्टले भने, ‘सन् १९८१ मा गरिएको सर्वेक्षणले कुल अन्धोपनमध्ये ७२ प्रतिशतको कारण मोतीबिन्दुको थियो । समुदायमा आधारित आँखाको उपचारात्मक, प्रतिरोधात्मक तथा प्रवद्र्धनात्मक सेवा प्रदान गरेर गेटा आँखा अस्पतालले सन् २००८ मा गरिएको सर्वेक्षणमा अन्धोपनमा सुधार भएको जनाएको थियो ।

सन् २००८ मा गरिएको सर्वेक्षणमा सुदूरपश्चिम प्रदेशमा अन्धोपनको अवस्थामा सुधार आएर ०.४१ प्रतिशतमा झरेको तथ्याङ्क रहेको उनले बताए । सुदूरपश्चिम प्रदेशमा दोस्रो पटक अर्थात् सन् २००८ मा गरिएको अन्धोपनको सर्वेक्षणमा प्रदेशमा ६२ प्रतिशत अन्धोपनको मुख्य कारण जलबिन्दु रहेको उल्लेख थियो । सन् १९८१ को सर्वेक्षणमा अन्धोपनको दोस्रो कारणका रूपमा रहेको ट्रकोमा दोस्रो पटकको सर्वेक्षणसम्म आइपुग्दा निकै कम भएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार ११:२७