सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

नेकपा एकीकृत समाजवादीमा कार्यविभाजन, मन्त्रीहरू जिम्मेवारीबिहीन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले ३३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । साथै नेकपा (एस)ले केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको जिम्मेवारी पनि टुंगो लगाएको छ । नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरूको जिम्मेवारी र संगठन संरचना स्पष्ट पारेका छन् ।

असोज २८ गते जारी गरिएको अन्तरपार्टी निर्देशनमा ३३५ सदस्यीय केन्द्रीय कमिटी, ४२ सदस्यीय स्थायी कमिटी, ९४ सदस्यीय पोलिटब्युरो, ११ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको उल्लेख छ । त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई ’सम्मानित नेता’ भनिएको छ । उनलाई विदेश विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ ।

मुकुन्द न्यौपाने र प्रदीप नेपाललाई नेताको हैसियत दिइएको छ । न्यौपानेलाई उद्योग, वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँट इन्चार्जको जिम्मेवारी दिइएको छ भने नेपाललाई प्रतिष्ठानहरूको इन्चार्ज बनाइएको छ । जीवनराम श्रेष्ठलाई संघीय संसदीय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

नेकपा (एकीकृत समाजवादी) बाट संघीय सरकारमा मन्त्री रहेका नेताहरूलाई पार्टीको जिम्मेवारी दिइएको छैन । नेकपा (एस)बाट संघीय सरकारमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ मन्त्री छन् । केहीदिन पहिले एमाले परित्याग गरेर एकीकृत समाजवादी पार्टी प्रवेश गरेका भानुभक्त जोसीलाई जलस्रोत, सिँचाई तथा ऊर्जा विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ ।

महासचिव वेदुराम भुसालको नेतृत्वमा ५ सदस्यीय केन्द्रीय कार्यालय गठन गरिएको छ भने चार आयोग पनि गठन गरिएको छ । त्यस्तै, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च, ५२ जना रहेको केन्द्रीय परिषद् पनि गठन गरिएको छ । अन्तरपार्टी निर्देशनमा पार्टी सदस्यको अभिलेख व्यवस्थितरूपमा खाता तथा डिजिटल माध्यममा राख्न भनिएको छ ।

मंसिर मसान्तभित्र पुरानो सदस्यता अभिलेख व्यवस्थित गरिसक्न पनि मातहतका कमिटीहरूलाई निर्देशन दिइएको छ । अध्यक्ष नेपालले ‘एक वडा, एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य’ निर्माण गर्ने अभियान सञ्चालन गर्न पनि निर्देशन दिएका छन् ।

नेकपा (एस)को अन्तरपार्टी निर्देशनको पूर्णपाठ :

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार ०८:१३