सूचनाको शक्ति - The Power Of Information

        

अपराध कि सुधार केन्द्र ?

प्रहरी हिरासत कक्ष नै असुरक्षित ! कैदी सुधार गृह कि मृत्यु घर ?

फाइल तस्वीर

काठमाडौं । भैसी चोरेको आरोपमा असोज २४ गते सुर्खेत चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षीय युवक धनबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएकै बेला हिरासतभित्र मृत्यु भयो । कैलाली लम्कीचुहा नगरपालिका–५ बाट पक्राउ गरेर इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राख्यो ।

राना सोमबार बिहान हिरासतको शौचालयमा मृत फेला परे । राना शौचालयको भेन्टिलेसनमा झुण्डिएको अवस्थामा फेला परेको कैलालीका प्रहरीको दावी छ । २०७८ असोज २४ मै अभद्र व्यवहार मुद्दामा पक्राउ परेका सुनसरी भोक्राहा–५ का मोहम्मद हकिम अनुसन्धानका क्रममा थुनामा भएको बेला आत्महत्या गरेको प्रहरीको दावी छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका उनको आत्महत्यापछि जिल्ला प्रहरी कार्यालयअघि उनका आफन्तहरुले नारावाजी गरे । सो घट्नापछि प्रहरी प्रधान कार्यालयले छानवीन समिति समेत गठन गर्न बाध्य भयो । यी माथि उल्लेख गरिएका दुई घट्ना २०७८ असोज महिनाकै हुन् ।

यसअघि पनि प्रहरी हिरासतमा रहेका थुनुवाहरुले आत्महत्या गरेको धेरै घट्नाहरु छन् । जस्तो २०७७ साल मंसिरमा जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले थिए। बाँके वनकटीका बाबुलाल रैदासले आत्महत्या गरेपछि त्यहाँ पनि उनका आफन्तहरुले आन्दोलन गरेका थिए ।

गत साउनमा जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा एकजना थुनुवाले आत्महत्या गरेका थिए । प्रहरी थुनुवा कक्षको शौचालयमा आत्महत्या गरेको बताइए पनि उनका आफन्तहरुले पत्याएका थिएनन् । जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका घर भएका थुनुवा पल्टु रविदासले आत्महत्या गरेका थिए ।

रविदास आफूले लगाउने गञ्जी च्यातेर पासो बनाइ भेन्टिलेटरमा झुन्डिएका अवस्थामा फेला परेको प्रहरीको दावी थियो । उल्लेखित घट्नाक्रम प्रतिनीधि मात्रै भएको राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य सुदीप पाठक बताउछन् । उनका अनुसार यी घट्नाक्रममा नेपालका हिरासतहरु सुरक्षित छैनन भन्ने पुष्टि भएको छ ।

देशभरका प्रहरी कार्यालयभित्र रहेका हिरासत सुरक्षित हुनुपर्नेमा थप असुरक्षित हुँदै गएकोमा उनको चिन्ता छ । ‘प्रहरीको थुनुवा कक्ष सुरक्षित हुनुपर्छ यो वा त्यो बहानमा त्यहाँको मृत्युलाई सामान्य मान्न सकिन्न,’ पूर्व सदस्य पाठकले भने । तराईका जिल्लाहरुमा झन यस प्रकारका घटनाहरु दोहोरिन थालेका छन् ।

२०७७ भदौ २१ गते पसलवाट मोबाइल चोरीको आरोपमा धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय रोशन विकलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा राखेको थियो । त्यसको चार दिनपछि अट्याच बाथरुम रहेको थुनुवा कक्षभित्रै उनको मृत्यु भएको थियो ।

यसैगरी २०७७ साउन २९ मा धनगढी उपमहानगरपालिका १४ फुलबारीका अमरबहादुर चन्द प्रहरी चौकीको हिरासतमा रहेका बेला शौचालयमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले छेउमा ब्लेड पनि फेला परेकोले ब्लेडले घाटी आफैं रेटेर आत्महत्या गरेको दाबी गरेको थियो ।

यसरी पटकपटक एकपछि अर्को हिरासतभित्र हुने मृत्युका घटनाले प्रहरी हिरासत नै असुरक्षित देखिएको भए पनि प्रहरी प्रधान कार्यालय र सम्बन्धित जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सकेका छैनन् । प्रहरी हिरासतभित्र रहेका कैदीको मृत्यु सधै शंकास्पद र बिवादास्पद हुने गरेको छ ।

झापा बिर्तामोडस्थित इलाका प्रहरी, अनारमनीको हिरासतमा १ वैशाख ०७६ मा किरण कार्की ढोलीको शंकास्पद मृत्यु भएको घटनाले पनि प्रहरीमाथि प्रश्न उठेको थियो । मोबाइल र पैसा चोरी आरोपमा पक्राउ परेका उनी हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

उनको मृत्युबारे परिवारका सदस्यहरुले प्रहरीमाथि नै शंका गरी छानवीन गर्न माग गरेका थिए । तर सो विषयमा प्रहरीले सुनुवाई गरेन । हिरासतमा कति व्यक्तिको मृत्यु हुन्छ भन्ने बारेमा प्रहरीसँग कुनै तथ्यांक छैन । प्रहरीले हिरासतमा हुने मृत्युका घटनालाई प्रायः आत्महत्या गरेकै तथ्यांकमा राखिदिन्छ ।

प्रहरीकै हिरासत असुरक्षित बनेपछि प्रहरीकार्यालयप्रति सर्वसाधारणले प्रश्न उठाउन थालेका छन् । उनीहरुले प्रहरीको हिरासत कक्षलाई असुरक्षित महशुस गर्नु स्वाभाविक रहेको सरोकारवालाहरुको दावी छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर हिरासतको सुरक्षामा प्रहरी गम्भीर रहेको दाबी गर्छन् ।

अधिकांश घटनामा आत्महत्या देखिएकाले प्रहरीको हिरासत कक्ष थुनुवाको सुरक्षाको पाटोमा सुधारको प्रयास भइरहेको पनि एसएसपी कुँवरको भनाई छ । ‘यो विषय निकै गम्भीर छ प्रहरीले हिरासत कक्षलाई सुधार गर्ने प्रयास गरिरहेको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुँवरले भने ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतवार १३:४१