सूचनाको शक्ति - The Power Of Information

        

दशैं विदामा बन्द भएका सरकारी कार्यालय खुले

काठमाडौं । दशैंको विदा सकिएसँगै विभिन्न जिल्लाहरुमा चहलपहल बढेको छ । बन्द भएका सरकारी कार्यालयहरु पनि आजबाट खुलेका छन् ।

दशैं मनाउन गाउँघर गएकाहरु काठमाडौं उपत्यका भित्रिने क्रम जारी छ । काठमाडौंका कलंकी, बल्खु, कोटेश्वर, बालाजु लगायतका नाकाहरुमा दशै मनाएर राजधानी फर्कनेहरुको भिड बढेको देखिन्छ ।

मानिसहरूको भिडभाडले काठमाडौं पुरानै लयमा फर्किन थालेको आभास मिल्छ । काठमाडौं उपत्यकामा आइतबारबाटै चहलपहल बढेको देखिएको थियो । सडकहरुमा गाडीको संख्या पनि बाक्लिंदै गएको थियो ।

सवारी साधनको चहलपहल बढे पनि सडकमा जाम हुने गरी चाप भने अझै नभइसकेको ट्राफिक प्रहरीले जनाएको छ । यद्यपि आज टीकाको तेस्रो दिन पनि मान्यजन तथा आफन्तबाट टीका थाप्ने र आशिर्वाद लिने क्रम चलिरहेको छ ।

टीकाको दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतवार ०९:२३