सूचनाको शक्ति - The Power Of Information

        

अपराध

नेपालमा बाह्रैमास खेलिन्छ जुवातास, मिटर ब्याजीको ‘खतरनाक कनेक्सन’

काठमाडौं । घटस्थापना सुरु हुनुभन्दा अघिदेखि नै दैनिक ठूलो संख्यामा जुवाडेहरु पक्राउ परिरहेका छन् । नेपालमा अरु बेला पनि जुवाडे नियमित जसो पक्राउ नपर्ने होइनन् । तर दसैँतिहारका बेला जुवाडेहरु बढी पक्राउ पर्छन् । रमाइलोका नाममा यसलाई आर्थिक आर्जनको मेसो बनाउन थालिएपछि नेपालमा जुवातासलाई प्रतिबन्ध लगाइएको थियो ।

नेपालमा रहेका क्यासिनोहरुमा समेत नेपालीलाई प्रवेशमा रोक लगाइएको छ । तर चाडपर्वमात्र होइन अरु बेला पनि व्यावसाय झैँ बनाएर जुवा खेल्ने समूह नेपालमा ठूलो छ । गत साता काठमाडौँको बाफलस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेको प्रहरीले जनाएको थियो ।

प्रहरीका अनुसार ७ बुक तास, कौडा ३३ थान र विभिन्न व्यक्ति र निर्माण कम्पनीका नामबाट काटिएका चेकहरु पनि बरामद भए । उनीहरुको साथबाट २ लाख ८६ हजार ६५ रुपैयाँ नगद पनि बरामद भयो । असोज १८ गते कास्कीको पोखरा–१९ गैरिखोरस्थित एक घरबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो ।

सोही दिन पोखरा–१९ लामाचौरबाट पनि जुवा खेलिरहेको अवस्थामा एकै ठाउँबाट ९ जना पक्राउ परेका थिए । प्रहरी प्रधान कार्यालयका अनुसार गत आर्थिक वर्षमा जुवा ताससम्बन्धी ४९५ वटा मुद्धा दर्ता भएका थिए भने त्यसमा १०९ जना महिलासहित ३ हजार ४५६ जना मानिसहरु पक्राउ परेका थिए । तीमध्ये एक महिलासहित १६ जना विदेशी पनि थिए ।

चालू आर्थिक वर्षमा जुवा ताससम्बन्धी एक सय ८ वटा मुद्धा दर्ता भइसकेका छन् भने ४५ महिलासहित ७४५ जना पक्राउ परेका छन् । नेपालमा जुवातास खेलेमा वा खेलाएमा पहिलो पटकको हकमा तीन महिनासम्म कैद र ३० हजार रुपैयाँसम्मको जरिवाना तथा दोस्रोपटकको हकमा एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

त्यसपछि पनि पक्राउ परे हरेकपटक थप तीन महिना र थप १० हजार रुपैयाँ जरिवाना हुने मुलुकी अपराध संहिता, २०७४ मा उल्लेख छ । प्रहरीकै संरक्षणमा जुवातास खेल्ने र खेलाउने गरेको भन्दै बेलाबखत प्रहरी विवादमा आउने गरेको छ । कहिलेकाहीँ हाइप्रोफाइल व्यक्तिहरुसमेत जुवा खालबाट समातिने गरेका छन् ।

२०७६ कात्तिकमा काठमाडौँको कमलादीस्थित एक होटलबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा २ करोड ६७ लाख रुपैयाँ नगदसहित २५ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा बले भनिने बलराम सापकोटा, होटल व्यवसायी पवित्रकुमार कार्की लगायत थिए । जुवातासका घटनामा मिटर ब्याजीको ‘खतरनाक कनेक्सन’ पनि देखिने गरेको छ । ठूला रकमका चेक बाउन्स मुद्दामा अनुसन्धान गर्दा बेलाबखत त्यस्ता चेकहरु जुवा खेल्नेहरुले दिएको पाइने गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार १२:५३