सूचनाको शक्ति - The Power Of Information

        

बल्नै छाड्यो काशीरामको चुल्हो

बैतडी । बैतडीको पाटन नगरपालिका–६ पाटनबजार नजिकै घर भएका काशीराम भुल ५९ बर्षका भए । तर झट्ट हेर्दा उनी ७० बर्ष नाघेका जस्ता देखिन्छन् । जीवनभरी मजदुरी गरेका उनले कहिले पनि पोषणयुक्त खाना खान पाएनन् । उनले १२ बर्षको उमेरदेखि मजदुरी गर्न थालेका हुन् ।

ट्रकमा सामान लोड–अनलोड गर्नेदेखि निर्माण कार्यहरूमा रातदिन काम गरे । तर उनी एक बर्षदेखि काम गर्न नसक्ने भएका छन् । मजदुरीमा जान नसक्ने भएसँगै उनीसँग मागेर खानुको विकल्प रहेन । जुन उनी कहिल्यै चाहदैन थिए । उमेर ढल्किदैँ गएपछि काम गर्न सकेनन् मागेर खान उनले जानेनन् । जसका कारण उनको घरमा अचेल चूलो बल्न छाडेको छ ।

चुहिन छानोे भएको सानो घर (झुप्रो)मा बस्ने भुल दम्पती दुवैजना अहिले बिरामी छन् । उपचार गर्ने पैसा नहुँदा कुन रोग लागेको हो भनेरसम्म उनीहरूलाई थाहा छैन । उनीहरूलाई सधैँ ज्वरो आउने र रुघाखोकी लागिरहन्छ । भुलले भने, ‘नजिकका स्वास्थ्य चौकीमा उपचारका लागि गएका थियौं, धनगढी अथवा काठमाडौंको ठुलो अस्पताल जानुस् भन्यो । उता पुग्ने क्षमता छैन, गाडीको टिकट काट्नसम्म पैसा छैन ।’

भुल दम्पतिका चार छोरा समेत छन् । दुई छोरा साना बालखै छन् भने दुईजना भारतमा मजदुरी गर्छन् । तर छोराहरू कमाएको पैसाले मदिरा सेवन गरेर सिध्याउने उनीहरू बताउँछन् । ‘हामीलाई अहिलेसम्म एक रुपैयाँ दिएका छैनन्,’ काशीरामले भने । काशीराम उपचार सहयोगका लागि सिफारिस पत्र बोकेर १०–२० रुपैयाँ माग्दै हिडिरहेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार १६:४३