सूचनाको शक्ति - The Power Of Information

        

वामपन्थी मजदुर नेता ओम कोइरालाको निधन

काठमाडौं । इटहरी उपमहानगरपालिका–२ निवासी वरिष्ठ मजदुर नेता ओम कोइरालाको निधन भएको छ । विराटनगरस्थित नोवेल अस्पतालमा उपचारका क्रममा गएराति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनलाई उपचारका लागि अस्ति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उपचारका क्रममा आइसियू आवश्यक परेकाले हिजो बेलुकी उनलाई विराटनगर लगिएको थियो । त्याग र निष्ठाका प्रतिमूर्ती पुराना कम्युनिष्ठ नेता कोइराला लामो समयदेखि मृगौला सम्वन्धी रोगबाट पीडित थिए ।

२०११ साल चैत १५ गते तेहथुमको खाम्लालुङ्गडमा जन्मिएका कोइरालाले शरीर दान गरेकाले आवश्यक प्रक्रिया पूरा गरेर दिउँसो १ बजे उनको निवासमा अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम गरिने बताइएको छ । नेता कोइरालाले २०३६ सालदेखि २०४६ सालसम्म मदन भण्डारीको निकट रहेर भूमिगत राजनीति गरेका थिए ।

उनले प्रकाशित अप्रकाशित गरी १४ वटा पुस्तक लेखेका छन् । ओम कोइराला नागरिक अभिनन्दन समितिले गत असोज २३ गते इटहरीमा उनलाई भव्य नागरिक अभिनन्दन गरेको थियो । त्यही कार्यक्रममा उन तीन पुस्तक लोकार्पण गरिएको थियो । कोइरालाका श्रीमती, चार छोरा र दुई छोरी रहेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार ०९:४७