सूचनाको शक्ति - The Power Of Information

        

दशैंमा पनि बैतडीका ग्रामीण सडक अवरुद्ध

बैतडी । बैतडीका अधिकांश ग्रामीण सडक दशैंमा पनि अवरुद्ध छन् । वर्षात्को कारण चार महिनादेखि अवरुद्ध रहेको सडक सञ्चालनमा आउन नसकेका हुन् । दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा–रिम, पञ्चेश्वर गाउँपालिकाको गडमेश्वर–बिजुल, कुलाउँ–डिम्बरघाट, सिगास गाउँपालिकाको ढुंगाड–गर्जे, बिप्फेकटाल–साउदखेत, श्रीभावर–चौखाम, देउलेक–शिवलिङ्ग, बिन्द्रावन–माण्डौ र दुदिलाखान–कुर्जेनेटा लगायतका सडक बन्द छन् ।

ग्रामीण सडकहरु सञ्चालनमा ढिलाई हुँदा दशैंका लागि गाउँ फर्किनेहरुले समस्या भोगेका छन् । सडक अवरुद्ध हुँदा ग्रामीण भेगका बजारहरुमा व्यापारीहरुले खच्चड तथा भरियालाई बोकाएर सामान ढुवानी गर्ने गरेका र हरेक सामानमा महँगो बताएका छन् । ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको मूल्य समेत महँगिएको दोगडाकेदार–१ रिमका कृष्ण साउँदले बताए । वर्षातका कारण सडकका विभिन्न ठाउँमा भत्किएको छ भने कुनै ठाउँमा माथिबाट पहिरो आएको छ । रिमबासीलाई अहिले पाँच घण्टाको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।

सिल्लेगडा–रिम सडकखण्ड गत जेठ महिनादेखि अवरुद्ध भएको हो । उक्त सडक सञ्चालनका लागि गाउँपालिकाले ढिलाइ गरेको छ । यता जनप्रतिनिधिहरुले सडक खुलाउन पहल थालिएको बताउँछन् । दोगडाकेदार गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले अवरुद्ध सिल्लेगडा–रिम सडकखण्ड तत्काल सञ्चालन गर्ने बताइन् । कालागाउँ र सित्तड सडकखण्ड सञ्चालनमा ल्याइसकिएको छ ।

पञ्चेश्वर क्षेत्रका सडक पनि सञ्चालनको तयारी भएको गाउँपालिकाले जनाएको छ । उपाध्यक्ष बिना भट्टका अनुसार गाउँपालिकाकाभित्रका अन्य अवरुद्ध सडकहरु गाउँपालिकाले सञ्चालनमा ल्याइसकेको र गडमेश्वर–बिजुल, कुलाउँ–डिम्बरघाट सडकहरु सञ्चालनका लागि काम भइरहेको छ । अवरुद्ध रहेका दुर्गम सिगास गाउँपालिकाकाका सडक पनि सञ्चालनका लागि काम भइरहेकाले छिट्टै सञ्चालनमा आउने वडा नम्बर ४ का वडाध्यक्ष शेरसिंह साउँदको भनाइ छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार ०९:४०