सूचनाको शक्ति - The Power Of Information

        

मोटरसाइकल र कार दुर्घटनामा पाँचको मृत्यु, सात जना घाइते

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८, भाटभटेनी नजिकै मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । नेपालगन्जबाट राँझातर्फ जाँदै गरेको भे६प ६३६५ नम्बरको मोटरसाइकलले हिजो बेलुका करिब सवा ७ बजे साइकलमा सवार अन्दाजी ६५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो ।

घाइतेलाई उपचारको लागि नेपालगन्ज नर्सिङ होममा पठाइएको र उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । मृतकको सनाखत हुनसकेको छैन । यस्तै कैलालीको गौरीगंगा नगरपालिका–२, आम बगियामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका–१ का २५ वर्षीय लक्ष्मण चौधरीको मृत्यु भएको हो । गएराति करिब सवा २ बजे से२प ६९ ५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालीमा खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आज बिहान साढे ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।

यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिका–१६ रजहर चोकमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । तीनजना घाइते छन् । पूर्व–पश्चिम राजमार्गमा लु२२प ६७६९ र वाग्मती प्रदेश ०३ ००३ प १५२६ नम्बरका मोटरसाइकल हिजो साँझ करिब ६ बजे आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी १५२६ नम्बरको मोटरसाइकलमा पछाडि सवार देवचुली नगरपालिका–१ की ३६ वर्षीया नैना बस्ताकोटीको उपचारको क्रममा कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको हो । घाइते तीनजनाको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यसैगरी बाराको कोल्हवी नगरपालिका–२, भीमसखुवामा कारको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । कारमा सवार तीन जना घाइते छन् । कोल्हवी नगरपालिका–२, पुरानोकाँटाका ३८ वर्षीष पेमा दोर्जे घिसिङ र ४० वर्षीय डेनी स्याङ्तानको घटनास्थलमै मृत्यु भएको हो । मृतकमध्ये मोटरसाइकल चालक को हुन् भन्ने खुल्न बाँकी छ ।

सामान्य घाइते भएका कारमा सवार तीनजनाको जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ । तामगढीबाट कोल्हवीतर्फ जाँदै गरेको बा१९च ४५११ नम्बरको कारले हिजो राति करिब साढे ९ बजे विपरीत दिशाबाट आउँदै गरेको ना५९प १२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार १६:२१