सूचनाको शक्ति - The Power Of Information

        

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्ने

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ को उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार राति भएको खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई ३–१ गोलअन्तरले हराउँदै भारतले फाइनलमा नेपालसँग भेट पक्का गरेको हो ।

यसअघि बुधबार अपराह्न भएको प्रतिस्पर्धामा बगंलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपालले साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको थियो । नेपाल पहिलोपटक साफको फाइनल पुगेको हो । भारत भने साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टिम हो ।

अहिलेसम्म भारतले ७ पटक च्याम्पियनसिपको उपाधि जितिसकेको छ । साफको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको हो । भारतले ४ खेलमा २ जित र २ बराबरसहित ८ अंक जोड्दा नेपाल ४ खेलमा २ जित, १ हार र १ बराबरसँगै ७ अंक जोड्दै दोस्रो स्थानमा स्थानमा छ ।

माल्दिभ्स ६ अंकसाथ तेस्रो र बंगलादेश ५ अंक जोड्दै चौथो भयो । यसअघि १ अंक जोडेको श्रीलंका समूह चरणबाट बाहिरिएको थियो । नेपाल र भारत अब उपाधिका लागि आगामी शनिबार साँझ ८ः४५ भिड्ने छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार १०:१३