सूचनाको शक्ति - The Power Of Information

        

बडादशैंको नवौं दिन

नवरात्रको अन्तिम दिन महानवमी : सिद्धिदात्रीको पूजा आराधना गरी मनाइँदै

काठमाडौं । बडादशैंको नवौं र नवरात्रको अन्तिम दिन आज महानवमी मनाइँदैछ । नौ दिनसम्म गरेको नवरात्र विधि यो तिथिमा सम्पन्न गरिन्छ । नवदुर्गाको प्रसाद भने दशमीको बिहान लगाउने परम्परा रहेको छ । नवमीमा भगवती दुर्गाको नवौं रूप सिद्धिदात्रीको पूजा–आराधना गरिन्छ ।

सिद्धिदात्रीको उपासनाले भक्तजनले सिद्धि प्राप्त हुन्छ भन्ने मान्यता छ । चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी देवीको स्वरूप छ । यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ । महानवमीमा अघिल्लो रात गरिएको कालरात्रिको पूर्णताका लागि हवन गर्ने विधान छ । यो दिन खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ ।

नवमीमा पनि शक्तिपीठ तथा दशैंघरहरूमा पशुबलि दिने परम्परा छ । शाकाहारीहरूले भने घिरौंला, कुभिण्डो र नरिवलजस्ता वस्तु बलि दिन्छन् । महानवमीका दिन तलेजुको मन्दिर सर्वसाधारणका लागि खुल्छ । नवरात्रमा दुर्गाका नौ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ । देवीका तीन रूपमध्ये महाकालीलाई शक्तिको स्वरूप मानिएको छ । महाकालीको आराधनाले शक्ति प्राप्ति हुने विश्वास गरिन्छ ।

समृद्धिको कामना गरेर महालक्ष्मीको पूजा आराधना गरिन्छ । विद्या, बुद्धि प्राप्तिका लागि महासरस्वतीको उपासना गरिन्छ । नवरात्रका समयमा देवीको उपासना गर्ने अनेक विधि छन्, घटस्थापना गरेर विभिन्न देवीको आराधना गर्ने, देवीभागवत, देवीपुराण र दुर्गा सप्तशतीलगायत ग्रन्थ पाठ गर्ने र शक्तिपीठहरूको दर्शन गर्ने । वर्षमा चार पटक नवरात्र पर्ने पुराणमा उल्लेख छ । शरद ऋतु (असोज) र वसन्त ऋतु (चैत) मा पर्ने नवरात्र विशेष मानिन्छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार ०८:२२