सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जको भुजईगाउमा रामलिला मञ्चन हुँदै

बाँके । बडा दशैको अवसरमा रामायणमा आधारित रामलिला नेपालगञ्ज उपमहानगर वडा नं. १८ भुजईगाउमा शुरु भएको छ ।

नेपालगञ्जको रामलिला मैदानमा निरन्तर १सय ५२ औ वर्षसम्म सञ्चालनमा रहेको रामलिला कोरोना संक्रमणको कारण दुई वर्षदेखि स्थगित भएपछि भुजईगाउका स्थानीय बब्लु बर्मा लगायतका युवाहरुले आफ्नै पहलमा सो रामलिला सुरु गरेका हुन ।

भारतको अयोध्याबाट आएका कलाकारले बाल्मिकी रामायणमा आधरित रामलिला मञ्चन गर्ने तयारी रहेको वडा नं. १८ का वडा अध्यक्ष दिपक बर्माले जानकारी दिए ।

यसैबीच नेपालगन्ज उपमहानगरका प्रमुख डा. धवलशम्शेर राणाले एक समारोहका बीच रामलिलाको उद्दघाटन गरेका छन् । उनले सो अवसरमा धर्म र सँस्कृतिले समाजलाई एकताबद्ध बनाउने कुरामा जोड दिए ।

सो अवसरमा स्थानीय अगुवा बजरंग कुर्मी, माधवराम बर्मा, वडा सदस्य दिग्विजय ढुंगाना लगायतका जनप्रतिनिधि, वडा प्रहरी प्रमुख डिल्ली खड्का, स्थानीय बुद्धिजीवीको उपस्थिति रहेको थियो ।

रामलिला दशै अबधिभर भुजई गाउको सामुदायिक विद्यालय परिसरमा सञ्चालन हुने छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार १६:४७