बाँके । छोरीहरूको पढाइ पूरा होस् र उमेर नपुगी विवाह नहोस् भन्ने उद्देश्यले डुडुवा गाउँपालिकाले सबै छोरीको बैंक खाता खोलिदिएको छ । छोरीहरूले हरेक किसिमबाट असुरक्षित महसुस गर्नुपर्ने वातावरण अन्त्य गराउनु गाउँपालिकाको उद्देश्य रहेको गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले बताए ।
डुडुवाका ६ वटा वडाभित्रका सबै बालिकाका नाममा कन्या मुद्दती खाता योजना लागू गरिएको छ । डुडुवा गाउँपालिका–१ कधैपुरवाका रामदिन बोधीले दुई वर्षीया छोरी सजनाका नाममा बैंक खाता खोलिदिएका छन् । अहिले उनको खातामा गाउँपालिकाले १० हजार रुपैयाँ जम्मा गरिदिएको छ । अबको २० वर्षपछि १ लाखको प्रिमियम उनले बुझ्ने छन् ।
सजनाजस्तै डुडुवा गाउँपालिकाका धेरै नानीहरू अब बैंक खातावाला भएका छन् । गाउँपालिकाले कन्या मुद्धति खाता योजना ल्याएसँगै यहाँका बालिका बैंक खातावाल भएका हुन् । निजी कारखानाका कामदार सजनाका पिता रामदिनले सुरुमा आफैंले केही रकम जम्मा गरेर खाता खोलिदिएका हुन् । त्यसपछि गाउँपालिकाले १० हजार थपिदिएको छ ।
‘गाउँपालिका आफैंले रकम जम्मा गरेर खाता खोलिदिन सुरु गरेको छ,’ उनले भने, ‘पछि छोरीहरूको पढाइ अघि बढाउन यो रकम सहयोगी हुने निश्चित छ ।’ खाता खुलेसँगै छोरीको पढाइ अनि विवाहबारे चिन्ता टरेको स्थानीय बताउँछन् । रामनगर उचुवाकी सुनिता गोडियालाई पनि कान्छी छोरीको बैंक खाता खोलिएपछि मन ढुक्क भएको छ ।
गोडियाले भनिन्, ‘अहिले पालिकाले बैंक खाता खोलेर पैसा जम्मा गरिदिँदा धेरै खुसी लागेको छ ।’ स्थानीय सरकारले ल्याएको कन्या मुद्दती खाता योजनाले छोरीको सुरक्षा र शिक्षा दुवैमा सहयोग पुग्ने डुडुवाका धेरै महिलालाई विश्वास छ । डुडुवामा १७२ छोरीको खाता खोलिसकिएको छ । उनीहरू सबै दुई वर्षमुनिका हुन् ।
अभिभावकको रोहबरमा स्थानीय सरकारले सबै छोरीको खाता खोलिदिने र नगद पनि जम्मा गरिदिने व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए । कन्या मुद्दती खाता योजना छोरीहरूको शिक्षा र सुरक्षालाई ध्यान दिएर ल्याइएको हो, प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भने ।
प्रमुख प्रशासकीय अधिकृत उपाध्यायका अनुसार छोरीहरूको साक्षरता दर बढाउन र बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले कन्या मुद्दती खाता योजना ल्याइएको हो भने त्यसका साथै अभिभावकको क्षति कम गर्न ५ लाखको दुर्घटना बिमा पनि गराइएको छ । २०७७ साउनपछि जन्मेका सबै छोरीको बैंक खाता खोलिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा बताउँछन् ।
।