सूचनाको शक्ति - The Power Of Information

        

न्याय खोज्दै काठमाडौं गएको नेपालगञ्जको टोली र सरकारबीच वार्ता

बाँके । घरेलु हिंसापीडित महिलाको हत्या अनुसन्धान हुनुपर्ने लगायतका माग राख्दै नेपालगञ्जदेखि काठमाडौं गएको टोलीसँग सरकारले वार्ता गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले आफूले नेपालगञ्जबाट आएको टोलीसँग वार्ता गरेको बताए । तर पीडित पक्षले चित्त बुझाएका छैनन् ।  उनीहरुले आफूहरुको मागमा सरकारले लिखित प्रतिवद्धता जनाउन माग गरे पनि प्रवक्ता पोखरेलले मौखिक आश्वासनमात्र दिएका थिए ।

घरेलु हिंसा पीडित महिला नन्कुन्नी धोवी हत्याका दोषी तथा विधवा महिला निर्मला कुर्मीका हत्याका दोषीलाई पक्राउ गरी कारबाही गर्नुुपर्ने, बाँकेका प्रहरी प्रमुख एसपी श्याम अधिकारी र डीएसपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाही गर्नुपर्ने माग गर्दै पीडित पक्षको एक टोली नेपालगञ्जदेखि काठमाडौं आएको थियो । शुक्रबार काठमाडौं आएका उनीहरु माइतीघरमा धर्नामा बसेका छन् ।

शुक्रबार साँझ धर्नास्थलबाटै प्रहरीले रुबी खातुनलाई पक्राउ गरेको थियो । गृहका प्रवक्ता पोखरेलले उनलाई नेपालगञ्ज नै पठाइएको बताए । ‘उनको नाममा जिल्ला अदालतले जारी गरेको वारेन्ट रहेछ, त्यसैले नेपालगञ्ज नै पठाएका छौं’ उनले भने ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतवार ०९:५३