सूचनाको शक्ति - The Power Of Information

        

विजयादशमी २०७८

नवरात्रको चौथो दिन, कुष्माण्डा भगवतीको पूजा आराधना, यस्तो छ विशेषता

काठमाडौं । नवरात्रको चौथो दिन आज नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदैछ । यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छिन् । सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, वाण कमल चक्र गदा आदि छन् । कुष्माण्डाको आराधनाबाट रोग, शोक र विभिन्न प्रकारका कष्ट निवारण हुने विश्वास गरिन्छ ।

नवरात्रमा प्रत्येक दिन एक–एक देवीको आराधना गर्ने परम्परा छ । घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरू शक्तिस्वरूपा भगवतीको आराधना गर्छन् । नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ । प्रत्येक दिन एक एक देवीको आराधना गरी नौ दिनमा नवरात्र अनुष्ठान पूरा गरिन्छ ।

पुराणअनुसार विभिन्न समयमा भगवती पार्वतीले लिएको रूपलाई नै नवदुर्गाका रूपमा पूजा आराधना गरिएको हो । दुष्टको विनाश र सज्जनको रक्षाका लागि देवी पार्वतीले समय–समयमा विभिन्न रूप लिएकी थिइन् । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी घडामा आवाहन गरी नौ दिनसम्म दुर्गाका नौ स्वरूपको आराधना गर्ने परम्परा छ । यसै घडामा महाकाली–महालक्ष्मी–महासरस्वतीको पनि आराधना गरिन्छ ।

‘कुष्माण्डा’को विशेषता

देवी दुर्गा, आफ्नो चौथो स्वरूपमा कुष्माण्डा नामले प्रसिद्ध छन् । ब्रह्म या अण्डलाई उत्पन्न गरेको कारण वहाँलाई कुष्माण्डा नामले चिनिन्छ । तीन नेत्रले युक्त देवी आफ्नो मस्तकमा अर्ध चन्द्र धारण गर्नेवाली, अष्ट भुजाहरूले युक्त, एवं आफ्नो भुजाहरूले नाना प्रकारको आभूषण धारण गर्ने, देवी कुष्माण्डा आफ्नो भुजाहरूमा चक्र, गदा, कलश, जप माला, कमण्डलु, धनुष, बाण तथा कमल पुष्प धारण गर्छिन् ।

देवीको स्वरूप मनोहर तथा दिव्य कान्तियुक्त रहन्छ । कुष्माण्डा आफ्नो वाहन बाघमा सवार गर्छिन् । देवी भागवत अनुसार ब्रह्माण्डको उत्पत्ति पूर्व जब सृष्टिको अस्तित्व नभएको बेला, चारैतिर अँध्यारो नै अँध्यारो थियो, त्यस समय देवी कुष्माण्डाले आफ्नो हाँस्यबाट ब्रह्माण्डलाई उत्पन्न गरेकी थिइन्, देवी कुष्माण्डा साक्षात आदि शक्ति हुन् । उनीबाटै समस्त जगतको उत्पत्ति भएको हो, त्यसभन्दा पूर्व यो ब्रह्माण्डको कुनै अस्तित्व थिएन ।

देवी कुष्माण्डा सूर्यमंडल अन्तर्गत आउने समस्त लोकमा निवास गर्छिन् । सूर्यलोकमा निवास गर्ने क्षमता एवं शक्ति मात्र माता कुष्माण्डामा छ साथै अन्य कुनैपनि देवी देवताका तेजको तुलना मातासंग गर्न नसकिने बताइएको छ । ब्रह्माण्डमा व्याप्त समस्त प्राणिहरू तथा तत्वमा देवी कुष्माण्डाको तेज विद्यमान रहेको छ । सम्पूर्ण ब्रह्माण्डमा व्याप्त सबै जीवित तथा निर्जीव तत्व यिनै देवीकै कृपाले उत्पन्न भएको हो पौराणिक मान्यता रहेको छ ।

नवरात्रको चौथो दिन माता कुष्माण्डाको साधना, पाठ, ध्यान, स्तोत्र, पूजाआदि गर्ने गरिन्छ । माता कुष्माण्डाको भक्तिले रोग, शोक नष्ट भई,आयु, यश र बलको वृद्धि हुनेछ साथै देवी कुष्माण्डा अल्प साधना या भक्ति मात्रले प्रसन्न हुन्छिन् । माता कुष्माण्डालाई विशेषगरि सेतो वस्तुको परिकार अधिक प्रिय छ, साथै सबैप्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छ । कुष्माण्डालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण रासायनिक शक्तिको स्वरूप मानिन्छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतवार ०६:१७