सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज इटहरी जाँदै

नेता कोइरालाका ३ पुस्तकको लोर्कापणसमेत गरिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (शनिबार) इटहरी जाँदै हुनुहुन्छ ।

त्यहाँ आयोजना हुने वृहत कार्यकर्ता भेला र मजदुर नेता ओम कोइरालाको अभिनन्दनमा सहभागी हुन ओली जाने भएका हुन्।

नेकपा एमाले इटहरीले शुक्रबार पत्रकार सम्मेलन गरि यसबारे जानकारी दिएको हो। एमाले इटहरी उपमहानगर समिति अध्यक्ष याम सुब्बाले एमालेको ऐतिहासिक विधान महाधिवेशनपछि सम्भवतः अध्यक्ष ओलीको पहिलो कार्यक्रम भएको बताए।

एमाले अध्यक्ष ओली शनिबार बिहान साढे ११ बजे इटहरी–२ मा हुने एमालेका पुराना अग्रज मजदुर नेता ओम कोइरालाको नागरिक अभिनन्दनमा सहभागी हुने छन्।

ओम कोइराला नागरिक अभिनन्दन समितिले अग्रज मजदुर नेता, निष्ठावान र निस्वार्थ व्यक्तित्व कोइरालाको अभिनन्दन आयोजना गरेको हो।

त्यहाँ नेकपा एमाले इटहरीले पनि नेता कोइरालालाई सम्मान गर्ने अध्यक्ष सुब्बाले जानकारी दिए।

अभिनन्दनसँगै मजदुर नेता कोइरालाका ३ पुस्तकको लोर्कापणसमेत गरिने अभिनन्दन समितिका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए।

अभिनन्दनपछि दिउँसो १ बजे ठूलो जनता स्कुलको खेल मैदानमा एमाले अध्यक्ष ओलीले वृहत कार्यकर्ता भेला तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्ने जनाइएको छ।

इटहरीलगायत सुनसरी जिल्लाका हजारौं अगुवा कार्यकर्ता जम्मा हुने वृहत कार्यकर्ता भेला कार्यक्रममा सहभागी हुने जानकारी सम्मेलनमा दिइयो।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार ०७:५२