सूचनाको शक्ति - The Power Of Information

        

दशैँका लागि खसीबोका बिक्री भोलिदेखि

काठमाडौं ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि भोलिदेखि मात्रै खसीबोका बिक्री गर्ने भएको छ ।

आजदेखि खसीबोका बिक्री गर्ने भनिए पनि  मूल्य निर्धारण नभएकाले भोलिदेखि मात्रै बिक्री गर्ने तयारी भएको नेपाल खाद्य संस्थानका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिउँसो मूल्य निर्धारण गरेर भोलिदेखि बिक्री थालिने छ । खाद्यले बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा खसी बोका बेच्ने छ ।

दशैँका लागि दाङ, मकवानपुर लगायतका ठाउँबाट ल्याइएका खसीबोका कम्पनीको केन्द्रीय कार्यालय थापाथलीमा राखिएको छ । खनालका अनुसार हिजो बेलुकासम्ममा दाङबाट एक सय ९० वटा खसीबोका ल्याइएको छ । यो पहिलो खेप हो ।

दाङबाट जम्मा ८ सय खसीबोका ल्याउने योजना छ । मकवानपुरबाट भने आज बिहानदेखि मात्रै खसीबोका ल्याउन थालिएको छ । मकवानपुरबाट एक हजार दुई सय खसीबोका काठमाण्डौ ल्याइनेछ ।

खाद्यले प्रतिकिलो ५ सय ४५ देखि पाँच सय ६५ रुपैयाँमा खसीबोका खरिद गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार ०८:३८